काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा सुशासन र योग्यता प्रणालीलाई सुदृढ बनाउन यसअघि गरिएका मनोनयन खारेज गरिएको बताएका छन्।


ADVERTISEMENT


शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले उच्च शिक्षामा योग्य, सक्षम र प्रतिस्पर्धी नेतृत्व स्थापित गर्ने उद्देश्यले सरकारले मनोनयन प्रणालीमा सुधार गर्दै नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्। उनले हालसम्म नौ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेको र अन्य रिक्त पदहरूमा पनि पदपूर्तिको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको बताइन्।


ADVERTISEMENT

# # #


मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर सुधार गर्न सबै विश्वविद्यालयलाई वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको बताएका छन्। समयमै भर्ना, पठनपाठन, परीक्षा र नतिजा प्रकाशन सुनिश्चित गरेर विश्वविद्यालयको शैक्षिक प्रणालीलाई व्यवस्थित बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।

उनले परीक्षा नतिजा छिटो सार्वजनिक गर्दा त्रुटि बढ्ने भन्ने धारणा सही नभएको स्पष्ट पार्दै प्रविधिको प्रभावकारी प्रयोग र प्रशासनिक सुधारमार्फत छिटो तथा विश्वसनीय रूपमा नतिजा प्रकाशन गर्न सकिने बताएका छन् ।

काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बालबालिकाको शिक्षाको अधिकार सुरक्षित राख्न सरकारले विशेष ध्यान दिएको पनि मन्त्री पोखरेलले जानकारी दिएका छन्। प्रभावित विद्यार्थीलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको उल्लेख गर्दै उनले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुने गरी सरकार प्रतिबद्ध रहेको बताए।

यसैबीच, राष्ट्रिय सभाको शुक्रबारको बैठकले पूर्वसांसद गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बैठकले दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक साउन १८ गते सोमबार बस्ने तय गरिएको छ।