काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका बिभिन्न स्थानमा घटेको घटनाहरूको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुकेको आरोप लगाएका छन् ।
एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकार र गृह प्रशासनले पछिल्ला घटनाहरूको संवेदनशीलता बुझ्न र तिनलाई सही तरिकाले समाधान गर्न नसकेको आरोप लगाएका हुन्।
उनले राजनीतिक दलहरुको सहयोग माग्नुपर्ने विषयमा सरकार र सरकारका मन्त्रीहरु चाहिँ गम्भीर रुपमा उदासिन देखिएको बताएका छन् । त्यस्तै उनले अघिल्लो सरकारले गरेका नियुक्तिहरू अध्यादेशमार्फत खारेज गरेर नयाँ सरकारले आफ्ना समर्थक र तुलनात्मक रूपमा कमजोर व्यक्तिहरूलाई भर्ती गरिरहेको भन्दै आलोचना गरेका छन्।
विगतका कमीकमजोरीबाट शिक्षा लिएर अब एमालेलाई देशको बलियो र जनताको रोजाइको पार्टी बनाउने उनको भनाइ छ ।
महासचिव पोखरेलले जनताको बहुदलीय जनवादको विशेषतासहितको रूप पक्षमा मात्र नभई अब सार पक्षमा जोड दिएर समाजवाद निर्माणतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखेका छन् ।



























































