काठमाडौं – चौधरी फाउन्डेसनको पहल तथा एलजी इलेक्ट्रोनिक्सको सहकार्यमा सञ्चालित ‘एलजी सीप शिक्षा’ कार्यक्रमको १६औँ ब्याच औपचारिक रूपमा सञ्चालनमा आएको छ। कार्यक्रममार्फत उद्योगको आवश्यकता अनुरूप प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै नेपाली युवालाई दक्ष जनशक्ति बनाउने अभियानलाई निरन्तरता दिइएको हो।
कार्यक्रमको उद्देश्य बजारको मागअनुसारका प्राविधिक तथा व्यावसायिक सीप विकास गरी युवालाई रोजगारीका अवसरसँग जोड्नुका साथै दिगो जीविकोपार्जनका लागि सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ।
सन् २०२४ मा सुरु भएको यस कार्यक्रमअन्तर्गत हालसम्म १६ वटा प्रशिक्षण ब्याच सञ्चालन भइसकेका छन्। पोलिटेक्निक, विद्युतीय तथा मेकानिकल विषयमा सञ्चालन गरिएका तालिमबाट हालसम्म ३३२ जना सहभागीले व्यावसायिक शिक्षा प्राप्त गरिसकेका छन्। हाल सुरु भएको १६औँ ब्याचमा १८ जना प्रशिक्षार्थी सहभागी छन्।
प्रशिक्षणको शुभारम्भ कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर–बंगलादेश शाखाका प्रबन्ध निर्देशक जेराल्ड सङ्घो चुन र चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले प्रशिक्षण केन्द्रको अवलोकन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जेराल्ड सङ्घो चुनले युवाको सीप विकास र सशक्तीकरणमा केन्द्रित साझेदारीलाई थप विस्तार गर्न पाएकोमा खुशी व्यक्त गर्दै सीपले व्यक्तिको जीवन र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे। उनले सिकाइको कुनै उमेर नहुने भन्दै निरन्तर ज्ञान र सीप आर्जन गर्न सबैलाई प्रेरित गरे।
त्यसैगरी, चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले व्यावहारिक सीपमा लगानी गर्नु नै दीर्घकालीन सामाजिक तथा आर्थिक विकासको आधार भएको उल्लेख गर्दै एलजीसँगको सहकार्यबाट अझ धेरै युवालाई रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने लक्ष्य रहेको बताए।
चौधरी फाउन्डेसनले सन् १९९५ देखि शिक्षा, स्वास्थ्य, समुदाय सशक्तीकरण तथा दिगो विकासका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। एलजी इलेक्ट्रोनिक्स विश्वका अग्रणी उपभोक्ता विद्युतीय सामग्री तथा गृह उपकरण उत्पादक कम्पनीमध्ये एक हो, जसले नवीन प्रविधि र ऊर्जा–दक्ष उत्पादनमार्फत विश्वभर सेवा प्रदान गर्दै आएको छ।



























































