काठमाडौं – प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा प्रकाशित बैंक तथा सञ्चालक, पदाधिकारी र व्यवस्थापनसँग सम्बन्धित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले प्रेस विज्ञप्ति जारी गर्दै आधारहीन, भ्रामक तथा अपुष्ट सामग्री प्रकाशित र प्रसारण भएको भन्दै त्यसप्रति आपत्ति जनाएको हो।
बैंकले त्यस्ता समाचारले संस्थागत प्रतिष्ठा, सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान–मर्यादा, बैंकिङ प्रणालीप्रतिको सार्वजनिक विश्वास र नियामक निकायप्रति अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गर्दै यस्ता सामग्रीको पूर्ण रूपमा खण्डन गरेको छ।
बैंकका अनुसार कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा हेरफेर, आन्तरिक व्यवस्थापन, कर्जा असुली तथा धितो लिलामीजस्ता प्रक्रिया बैंकिङ व्यवसायका नियमित प्रशासनिक र व्यावसायिक अभ्यास हुन्। यस्ता विषयलाई पर्याप्त आधार, प्रमाण वा आधिकारिक पुष्टि बिना समाचारका रूपमा प्रस्तुत गर्नु गैरव्यावसायिक हुने बैंकको भनाइ छ।
बैंकले विगतमा कर्जा फाइलसँग सम्बन्धित केही विषयमा नियामक निकायबाट अनुसन्धान भएको स्वीकार गर्दै ती विषयमा आवश्यक सुधार, आन्तरिक नियन्त्रण र सुशासनका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जनाएको छ। यस्ता कमजोरी दोहोरिन नदिन बैंक प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
साथै, सञ्चालक समिति तथा व्यवस्थापनबाट हुने सबै निर्णय नेपाल राष्ट्र बैंकको निर्देशन, प्रचलित कानुन तथा नियामकीय मापदण्डअनुसार हुने स्पष्ट गर्दै बैंकले सुशासन र पारदर्शिताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
प्रभु बैंकले सञ्चारमाध्यमलाई कुनै पनि सूचना वा समाचार प्रकाशित तथा प्रसारण गर्नुअघि त्यसको सत्यता, तथ्यपरकता र सम्बन्धित पक्षबाट आधिकारिक पुष्टि गर्न आग्रह गरेको छ। अपुष्ट र एकपक्षीय समाचारले वित्तीय प्रणालीप्रति नकारात्मक धारणा बन्न सक्ने भएकाले उच्च व्यावसायिक संवेदनशीलता र निष्पक्षताका साथ समाचार सम्प्रेषण गर्न बैंकले अनुरोध गरेको छ।



























































