काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आधुनिक प्रविधिको प्रयोगसँगै त्यसको सदुपयोग गर्नुपर्ने र प्रविधिको विकासका क्रममा आफ्नो मौलिक कला, संस्कृति तथा परम्परा ओझेलमा पर्न नहुने बताएका छन्।
श्री उन्मत्तेश्वर महादेव मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले जीवन सजिलो पनि नभएको र गाह्रो पनि नभएको भन्दै सजिलो र गाह्रोबीच सन्तुलन कायम गर्दै अघि बढ्नुपर्ने बताए। “तनाव लिने पनि होइन, तनाव दिने पनि होइन,” भन्दै उनले सकारात्मक सोचका साथ जीवन अघि बढाउनुपर्ने धारणा राखे।
उनले प्रविधिको प्रयोग आजको आवश्यकता भए पनि त्यसको सही सदुपयोग गर्नुपर्ने बताए। आधुनिक प्रविधिसँगै हाम्रो मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्री बानियाँले उन्मत्तेश्वर महादेव मन्दिर प्रकृति र संस्कृतिसँग जोडिएको महत्वपूर्ण धार्मिक सम्पदा भएको उल्लेख गर्दै यस क्षेत्रलाई पर्यटनसँग जोड्न सकिने बताए। मन्दिरमा आउने पर्यटकले धार्मिक आस्थासँगै यहाँको प्राकृतिक सुन्दरता, रमणीय दृश्य र स्थानीय मौलिक खानाका परिकारको समेत अनुभव लिन सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।
उनले “पर्यटकहरू आउँदा यहाँको दृश्य देखेर ‘आहा!’ भन्ने अवस्था बनोस्, यहाँका स्थानीय खानाका परिकारको स्वाद लिन सकून्” भन्ने भावनासहित धार्मिक, सांस्कृतिक, प्राकृतिक र स्थानीय पहिचानलाई एकसाथ जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।
उन्मत्तेश्वर महादेव मन्दिर क्षेत्रको विकाससँगै स्थानीय कला–संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा ध्यान दिनुपर्ने मुख्यमन्त्री बानियाँको भनाइ छ।


























































