काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले सरकारको कार्यशैली वास्तविक सुशासनको महशुस हुन नसकेको बताइन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा थापाले एक्सप्रेस–वे र विकासका ठूला कुरा गर्ने तर जनतालाई आधारभूत औषधि र राहतसमेत नदिने सरकारको कार्यशैली वास्तविक सुशासन हुन नसक्ने बताएका हुन् । उनले कर्णालीका जनताले सिटामोलसम्म नपाउने, सुत्केरीले समयमा अस्पताल सेवा नपाउने र विपन्न नागरिकलाई राज्यले एक सिलिन्डर ग्याससमेत उपलब्ध गराउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन ।
मन्त्रीहरू कर्णाली पुग्दा खानपान नपचेको भन्दै लाखौँ खर्चेर हेलिकप्टरबाट ल्याइने तर बिरामी नागरिकले सामान्य उपचार र अस्पतालसमेत नपाउने विभेदप्रति उनले आपत्ति जनाइन ।
थापाले प्रधानमन्त्री तथा मन्त्रीहरूका लागि ३०–३५ लाख खर्च गरेर हेलिकप्टर पठाउन सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पु¥याउन नसक्नु लज्जास्पद भएको टिप्पणी गरिन् ।




























































