काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा नवनिर्मित आफ्नै भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ।
बुधबार एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नयाँ केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन्। यसअघि लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय अब बालुवाटारमा स्थानान्तरण गरिएको छ। २०६४ सालमा स्याङ्जाको वालिङबाट वित्तीय कारोबार सुरु गरेको गरिमा विकास बैंकले २०६७ सालमा केन्द्रीय कार्यालय पोखराको महेन्द्रपुलमा सारेको थियो। राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि २०७३ सालमा पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गरिएको थियो।
नयाँ कार्यालय उद्घाटनका अवसरमा कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राण प्रतिष्ठासहित धार्मिक पूजाआजा समेत गरिएको बैंकले जनाएको छ। उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टसहित नियमनकारी निकायका पदाधिकारी, बैंकका सञ्चालक, पूर्वपदाधिकारी, उच्च व्यवस्थापन, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, शेयरधनी, कर्मचारी तथा ग्राहकको उपस्थिति थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले आफ्नै स्वामित्वको भवनबाट केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको यात्रामा नयाँ अध्याय सुरु भएको बताए। उनले बैंकको व्यावसायिक सफलतामा ग्राहक, शेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार र कर्मचारीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।
बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले आगामी दिनमा ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्दै संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन तथा दिगो विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।






























































