काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य एवं संसदीय दलका नेता उद्धव थापालाई पार्टीको निर्णय र निर्देशनविपरीत प्रदेश सरकार गठनमा समर्थन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ।


ADVERTISEMENT


राप्रपाको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई बागमती प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने तथा पार्टी सदस्यता निलम्बन गर्ने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


पार्टीका अनुसार थापाले पार्टीको निर्णय र पटकपटक दिइएको निर्देशनविपरीत प्रदेश सरकार गठनमा समर्थन दिने गतिविधिमा संलग्न भएकाले यसलाई गम्भीर अनुशासन उल्लंघनका रूपमा लिइएको हो।

केन्द्रीय अनुशासन समितिको सिफारिशका आधारमा राप्रपा विधानको धारा ३०(ड) र ३२(ङ) बमोजिम कारबाही गर्ने निर्णय भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

राप्रपाले थापामाथि गरिएको कारबाहीबारे बागमती प्रदेशसभा, निर्वाचन आयोग र सम्बन्धित अन्य निकायलाई जानकारी गराउने निर्णयसमेत गरेको छ।

यसैगरी, पार्टीको निर्णय र निर्देशनविपरीत सरकार निर्माणसम्बन्धी गतिविधिमा संलग्न नहुन राप्रपाले बागमती प्रदेशसभाका आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ। पार्टीको निर्णयबिना सरकारलाई समर्थन गर्ने वा सरकारमा सहभागी हुने काममा संलग्न भए सोहीअनुसार कारबाही गरिने राप्रपाले चेतावनी दिएको छ।

बैठकको निर्णयमा राप्रपाका पूर्वअध्यक्ष कमल थापाको भने फरक मत रहेको प्रवक्ता श्रेष्ठले बताएका छन्।