काठमाडौं – निजी क्षेत्रको स्वास्थ्य संस्था हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स) ले सेवा विस्तारलाई तीव्रता दिएको छ। ह्याम्सले धुम्बाराही र भक्तपुरको गट्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा गरी करिब ३ अर्ब रुपैयाँ लगानी गर्दै स्वास्थ्य पूर्वाधार विस्तार थालेको हो।


ADVERTISEMENT


गट्ठाघरमा रहेको हालको १०० बेडको अस्पताललाई २०० बेडमा स्तरोन्नति गर्न ७ रोपनी क्षेत्रफलमा नयाँ भवन निर्माण भइरहेको छ। अस्पतालका अध्यक्ष रामशरण भण्डारीका अनुसार नयाँ भवन निर्माणमा मात्रै २ अर्ब ५० करोड रुपैयाँ लगानी भइरहेको छ।


ADVERTISEMENT

# # #


हालको अस्पतालबाट करिब १५० मिटरको दूरीमा निर्माण भइरहेको नयाँ भवनमा अत्याधुनिक पूर्वाधारसहित विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने ह्याम्सको तयारी छ। अस्पताल सञ्चालनमा आएपछि भक्तपुरसहित आसपासका जिल्लाका नागरिकलाई विशेषज्ञ उपचारका लागि काठमाडौं वा ललितपुर धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

ह्याम्सले नयाँ अस्पतालबाट विशेषज्ञ उपचार र ट्रमा सेवा विस्तार गर्दै भविष्यमा क्यान्सर उपचार सेवासमेत सञ्चालन गर्ने योजना बनाएको छ।

सन् १९९७ मा स्थापना भएको ह्याम्सले दुई वर्षअघि धुम्बाराहीस्थित नागरिक सामुदायिक अस्पतालको ७० प्रतिशत सेयर स्वामित्व लिएर नयाँ व्यवस्थापनमा सञ्चालन गर्दै आएको छ। नागरिक सामुदायिक शिक्षण अस्पतालमा ५ सय २३ जना सेयर सदस्य रहेका छन्।

स्वास्थ्य सेवामा निजी क्षेत्रको लगानी विस्तार भइरहेका बेला ह्याम्सको यो ठूलो लगानीले भक्तपुरमा विशेषज्ञ तथा अत्याधुनिक उपचार सेवाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।