काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार बिहान सडकमार्ग हुँदै मुस्ताङतर्फ प्रस्थान गरेका छन्। उनको मुस्ताङ भ्रमणलाई लिएर विभिन्न चर्चा भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भने यो निजी भ्रमण भएको बताएका छन्।
शाहीका अनुसार प्रधानमन्त्री बालेन मुस्ताङस्थित खम्पा गुम्बा दर्शनका लागि गएका हुन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीको निजी भ्रमणलाई अनावश्यक रूपमा राजनीतिक विषय नबनाउन आग्रह गरेका छन्।
शाहीले निजी भ्रमणका क्रममा ठूलो संख्यामा सुरक्षाकर्मीको लावालस्कर आवश्यक नरहेको समेत टिप्पणी गरेका छन्। प्रधानमन्त्रीलाई केही समय निजी जीवनमा स्वतन्त्र रूपमा हिँडडुल गर्न दिनुपर्ने उनको भनाइ छ।
उनले हरेक विषयलाई राजनीतिक रंग दिएर प्रचार गर्नुभन्दा प्रधानमन्त्रीको निजी समय र व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने धारणा राखेका छन्।





























































