काठमाडौं- बागमती प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई लिएर असन्तुष्ट बनेका सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्यहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न काठमाडौं पुगेका छन् ।
मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने तयारी गरिरहेका बेला नेकपाभित्रै असन्तुष्टि चर्किएपछि बागमती सरकारमाथि राजनीतिक दबाब बढेको छ ।
गंगानारायण श्रेष्ठ, कृष्णप्रसाद खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठलगायत सांसदहरू प्रचण्डसँग छलफल गर्न काठमाडौं आएका हुन् ।
उनीहरूले बागमतीमा सरकार गठन गर्दा भएको मन्त्रालय बाँडफाँट र पार्टी नेतृत्वको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएका छन् । आफूहरूको हैसियतअनुसार महत्वपूर्ण मन्त्रालय नदिइएको उनीहरूको गुनासो छ ।
असन्तुष्ट सांसदहरू सोमबार मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा सहभागी हुन हेटौँडा नपुगेपछि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । अब विश्वासको मतसम्बन्धी बैठक मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्डले असन्तुष्ट सांसदहरूलाई सरकारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । तर, सरकार गठन प्रक्रियामै कमजोरी भएको भन्दै माग सम्बोधन नभएसम्म विश्वासको मत दिन कठिन हुने संकेत सांसदहरूले गरेका छन् ।
प्रचण्डसँगको छलफलपछि सांसदहरूको धारणा स्पष्ट हुने र त्यसैअनुसार मुख्यमन्त्रीको विश्वासको मतको प्रक्रिया अघि बढ्ने देखिएको छ ।






























































