काठमाडौं- नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरा, कास्कीमा कार्यरत महिला प्रहरी कर्मचारीका लागि बालमैत्री कक्ष तथा स्तनपान कक्ष सञ्चालनमा ल्याइएको छ।
महिला प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न थप सहज, सुरक्षित र कार्यमैत्री वातावरण सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको कक्षको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले उद्घाटन गरेका हुन्।
बालमैत्री कक्षमा बालबालिकाको सिकाइ, सिर्जनशीलता र मनोरञ्जनलाई ध्यानमा राख्दै स्मार्ट लेखन बोर्ड, नेपाली तथा अङ्ग्रेजी वर्णमाला चार्ट, अङ्क तथा संख्यासम्बन्धी शैक्षिक सामग्री, बल तथा विभिन्न खेल सामग्री राखिएको छ।
उक्त कक्षमा बालबालिकाको उमेरअनुसार आवश्यक शैक्षिक तथा मनोरञ्जनात्मक सामग्रीसमेत व्यवस्थित गरिएको कार्यालयले जनाएको छ। यसले महिला प्रहरी कर्मचारीलाई आफ्नो कार्यसम्पादनमा थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, स्तनपान कक्षले ड्युटीमा खटिने महिला प्रहरी कर्मचारीलाई शिशुको हेरचाह तथा स्तनपानका लागि सुरक्षित र सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।
प्रहरी कार्यालयमा आउने बालबालिकाका लागि समेत सुरक्षित, स्नेहपूर्ण र बालमैत्री वातावरण निर्माण गर्न यो पहल महत्वपूर्ण हुने कार्यालयले जनाएको छ।