काठमाडौं- बागमती प्रदेशको सत्ता समीकरणमा देखिएको विवादका कारण मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रक्रिया लम्बिएको छ। राप्रपा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सहमति नजुट्दा प्रदेशसभा बैठकको समय पटक–पटक परिवर्तन गरिएको हो।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक सुरुमा दिउँसो १ बजे बस्ने तय थियो। तर निर्धारित समयमा बैठक बस्न नसकेपछि साँझ ५ बजे का लागि सारियो। ५ बजे पनि दलहरूबीच सहमति नजुटेपछि बैठक अब राति ८ बजे बस्ने गरी पुनः समय तोकिएको छ।
प्रदेशसभा सचिव रामकुमार पौडेलले जारी गरेको सूचनाअनुसार विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसकेपछि सभामुखले प्रदेशसभा नियमावलीअनुसार बैठकको समय राति ८ बजेका लागि निर्धारण गरेका हुन्।
विश्वासको मतका विषयमा राप्रपा र नेकपाबीच देखिएको मतभेदले बागमती सरकारको भविष्यबारे समेत चासो बढाएको छ। मुख्यमन्त्री थापा मगरलाई विश्वासको मत जुटाउन दलहरूबीच सहमति कायम गर्नु चुनौतीपूर्ण बनेको छ।
अब राति ८ बजे बस्ने प्रदेशसभा बैठकले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउनेछ। बैठकबाट हुने निर्णयले बागमती प्रदेशको आगामी सत्ता समीकरणसमेत प्रभावित पार्ने देखिएको छ।





























































