म्याग्दी(रासस)–बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेको हो ।


ADVERTISEMENT


विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था खारेज गरी २७ फिटसम्म लम्बाइ भएका सवारीसाधनको रुट इजाजत प्रदान गर्न देशभरका यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने निर्णय भएको प्रजिअ लिलाधर अधिकारीले बताएका छन् ।


ADVERTISEMENT

# # #


२०७१ वैशाख ८ गते तत्कालीन यातायात व्यवस्थापन समिति धौलागिरिको बैठकले सडकको जोखिमपूर्ण अवस्थालाई आधार बनाउँदै २६ सिटभन्दा बढी क्षमताका यात्रुबाहक सवारीसाधनलाई सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । सो मापदण्डका कारण देशका विभिन्न ठाउँबाट मुस्ताङ भ्रमणमा जानका लागि बस रिजर्भ गरेर आएका पर्यटक तथा तीर्थयात्री आफूले ल्याएको गाडी बेनीमा छोडेर स्थानीय यातायात व्यवसायीको गाडी चढेर जान बाध्य थिए ।

यस्तो व्यवस्थाका कारण घुमाउरो शैलीमा सिण्डिकेटधारी स्थानीय यातायात व्यवसायीलाई सहयोग पुगेको थियो । नयाँ निर्णयअनुसार २७ फिटसम्म लम्बाइ भएका (दुई सापटे) ३२ सिट क्षमता भएका बस सञ्चालन गर्न सकिने जनाइएको छ । यो सडकमा हाल जलविद्युत् र सडक आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्ने ठूला ट्रक सञ्चालन भइरहेका छन् ।

भुरुङ तातोपानीका अधिकांश योजना सम्पन्न
अन्नपूर्ण गाउँपालिकामार्फत वडा नं २ भुरुङ तातोपानीमा चालू आर्थिक वर्ष २०७४÷७५ मा बजेट विनियोजन भएका अधिकांश योजना तथा कार्यक्रम सम्पन्न भएका छन् ।

गाउँपालिकाको रु ५० लाख अनुदानमा वडा कार्यालयले छनोट गरेर सञ्चालन भएका १४ वटामध्ये १३ वटा योजना तथा कार्यक्रम सम्पन्न भइसकेका छन् । जनप्रतिनिधिको समन्वय, अनुगमन र समुदाय तथा उपभोक्ता समितिको सक्रियताका कारण आव सकिनुभन्दा डेढ महिनाअघिनै योजना तथा कार्यक्रम कार्यान्वयन सकिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताएका छन् ।

सबैभन्दा धेरै रु १३ लाख बजेट विनियोजन भएको तातोपानी–मान्द्रेढुंगा सडक आयोजनाबाहेक अन्य योजना सम्पन्न भइसकेका छन् । सडक स्तरोन्नतिको काम भइरहेको यो योजनासमेत अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर गोतामेले बताएका छन् । चार ठाउँमा १०० मिटरभन्दा बढी आरसिसी ढलान, सोलिङ र ग्याबियन लगाउने काम भइरहेको छ ।