काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि नेपालतर्फको जोखिम अझै कायम रहेको जनाइएको छ। चीनको जलस्रोत मन्त्रालयले नेपालको सीमा नजिकै छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास ठूलो ताल बनेको जानकारी दिएको छ।


ADVERTISEMENT


छोचेन खोला र पुरेपू त्साङ्पो नदी भोटेकोशी तथा त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदी हुन्। चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका सीसीटीभी फुटेजमा भोटेकोशीमा बाढी आउनुअघि खसेको पहिरोले बनाएको भूभागमा नयाँ ताल निर्माण भइरहेको देखाइएको छ।


ADVERTISEMENT

# # #


उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको जनाइएको छ। पहिरोबाट बनेको प्राकृतिक बाँध कमजोर भई फुटेमा ठूलो मात्रामा पानी तलतर्फ बग्न सक्ने जोखिम रहेकाले नेपालतर्फको खतरा अझै नटरेको बताइएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका बस्ती तथा प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक देखिएको छ। प्राकृतिक बाँध फुट्ने अवस्था आएमा भोटेकोशी हुँदै त्रिशूली नदीको बहाव थप बढ्न सक्ने भएकाले सुरक्षा निकाय र स्थानीय प्रशासनले निरन्तर निगरानी र तयारी आवश्यक पर्ने देखिन्छ।