काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङमा भइरहेको उद्धार कार्यका लागि आवश्यक परे विदेशी विज्ञ र प्राविधिक सहयोग लिन सरकार हिचकिचाउन नहुने बताएका छन्।


ADVERTISEMENT


आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफलमा थापाले स्वदेशी जनशक्तिको विज्ञताले मात्रै सुरुङ उद्धार सम्भव नहुने अवस्था देखिएपछि बाह्य सहयोगका लागि परराष्ट्रमन्त्रीसँग आग्रह गरेको जानकारी दिए।


ADVERTISEMENT

# # #


उनले विपद्का बेला छिमेकी तथा अन्य मुलुकबाट सहयोग लिनु स्वाभाविक भएको भन्दै सरकारलाई उपलब्ध सबै स्रोत र विज्ञताको उपयोग गर्न आग्रह गरे।

थापाले विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै संघीय सरकारले स्थानीय तहसँग प्रभावकारी समन्वय गर्नुपर्ने बताए। स्थानीय तहलाई बाइपास गरेर उद्धार तथा राहत प्रभावकारी हुन नसक्ने उनको भनाइ छ।

बाढीपहिरो र डुबानबाट हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पार्टीका कुनै पनि तहबाट सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न पनि उनले निर्देशन दिएका छन्।

कांग्रेसले सरकारलाई उद्धार तथा राहतमा पूर्ण सहयोग गर्ने र देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ।