काठमाडौं – मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि राजधानीमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुने आशंका बढेको छ। तर, नेपाल आयल निगमले भने वैकल्पिक मार्ग प्रयोग गरेर इन्धन आपूर्ति निरन्तर राख्ने जनाएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीर नजिकै त्रिशूली नदीले सडक कटान गरी सडक भासिएपछि मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो। सडक बन्द भएपछि पेट्रोल, डिजेल र एलपी ग्यास बोकेका ट्यांकर तथा बुलेटको आवतजावत प्रभावित भएको छ।
मुख्य सडकबाट इन्धन ढुवानी गर्न नसकिएपछि निगमले वैकल्पिक सडकमार्गबाट काठमाडौंमा पेट्रोलियम पदार्थ भित्र्याउने व्यवस्था मिलाएको जनाएको छ। आपूर्ति नियमित राख्न आवश्यक समन्वय र व्यवस्थापन भइरहेको निगमको भनाइ छ।
निगमका अनुसार काठमाडौं उपत्यकामा तत्काल पेट्रोलियम पदार्थ तथा ग्यासको अभाव हुने अवस्था छैन। सडक अवरोधका कारण ढुवानीमा केही कठिनाइ भए पनि वैकल्पिक मार्गमार्फत आपूर्ति व्यवस्थापन गरिने भएकाले उपभोक्तालाई नआत्तिन आग्रह गरिएको छ।
इन्धनको कृत्रिम अभाव सिर्जना हुन नदिन तथा अनावश्यक रूपमा पेट्रोलियम पदार्थ र ग्यास सञ्चय नगर्न समेत निगमले आग्रह गरेको छ। मुख्य राजमार्ग सञ्चालनमा आउन समय लागेमा पनि वैकल्पिक मार्गबाट आपूर्ति कायम राख्ने निगमको तयारी छ।































































