काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘नेतृत्व उत्कृष्टता पुरस्कार २०२६’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
‘सगरमाथा वर्ष–बादलपारि अझ अगाडि’ भन्ने मूल नाराका साथ काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका ६३७ जना अभिकर्ता तथा एजेन्सी व्यवस्थापक सहभागी भएका थिए।
कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन्।
कार्यक्रममा सञ्चालक अग्रवालले नेपाल लाइफले २५ वर्षको यात्रामा नेपाली जीवन बीमा क्षेत्रमा विश्वास, स्थायित्व र नेतृत्वको इतिहास निर्माण गरेको बताएका छन्। उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
सञ्चालक ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी नियन्त्रणसम्बन्धी प्रावधानको पूर्ण पालना गर्न अभिकर्ता तथा एजेन्सी व्यवस्थापकलाई आग्रह गरेका छन्।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८२/८३ लाई कम्पनीका लागि ऐतिहासिक वर्षका रूपमा उल्लेख गर्दै आगामी दिनमा डिजिटल रूपान्तरणलाई तीव्रता दिने बताएका छन्। आधुनिक प्रविधिको प्रयोग, ग्राहकमैत्री विद्युतीय सेवा, तथ्यमा आधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रियाको स्वचालनमार्फत ग्राहक अनुभव थप उत्कृष्ट बनाउने योजना रहेको उनले बताएका छन्।
कार्यक्रममा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी व्यवस्थापकलाई पदक, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। साथै, देशभर उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी व्यवस्थापकलाई विशेष सम्मानसमेत गरिएको थियो।
नेपाल लाइफले २५ वर्षको यात्रामा २८५ अर्ब रुपैयाँको जीवन बीमा कोष, ९९.१३ प्रतिशत मृत्यु दाबी भुक्तानी दर र ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरेको जनाएको छ। कम्पनीले हालसम्म ३६२ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गर्नुका साथै नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर बुझाएको जनाएको छ।
‘सगरमाथा वर्ष–बादलपारि अझ अगाडि’ अभियानमार्फत नेपाल लाइफले आगामी दिनमा ग्राहकको विश्वास, प्रविधि, नवप्रवर्तन, उत्कृष्ट सेवा र व्यावसायिक सुशासनलाई प्राथमिकतामा राख्दै अझ उच्च सफलता हासिल गर्ने प्रतिबद्धता जनाएको छ।































































