काठमाडौ–प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसकी नेतृ तथा सांसद सुजाता कोइरालाले सहमती,सहकार्य र एकता अनुसार नगए देश ठूलो दुर्घटनामा पर्ने बताएकी छन् । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति स्व. गिरिजा प्रसाद कोइरालाले भन्ने गरेको भनाई ‘सहमती, सहकार्य र एकता’ अनुसार देश अगाडि नबढेको खण्डमा देश आउने दिनमा ठूलो दुर्घटनामा पर्ने भन्दै सरकारलाई चेतावनी दिएकी छिन् ।


ADVERTISEMENT


आ. ब. २०७५/०७६ को बजेट माथिको सामान्य छलफलमा भाग लिने क्रममा प्रतिनिधि सभाको आईतबारको बैठकमा बोल्दै सांसद कोइरालाले वर्तमान सरकार अहिले प्रतिपक्षी दललाई वेवास्ता गर्दै अगाडि बढिरहेको आरोप लगाउँदै यस्तो बताएकी हुन् ।


ADVERTISEMENT

# # #


सांसद कोइरालाले अझै पनि द्वन्द्वकालीन मुद्दा र शान्ति प्रक्रियाका कतिपय कामहरु बाँकी नै रहेकाले पनि विगतमा झै सरकारले ‘सहमती, सहकार्य र एकता’को माध्यमबाट सरकारले सबैलाई समेटेर बाँकी कामहरु पनि पूरा गर्नु पर्ने जोड दिएकी छन् ।

सरकारले हालै ल्याएको बजेटले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा कहिंकतै सम्बोधन नै नगरेको तथा सरकार कांग्रेसलाई एक्लो बनाएर हिंड्ने प्रयास गरिरहेको भन्दै उनले बजेटमा कम्युनिष्ट नेता पुष्पलाल र मदन भण्डारीको नाममा ठूला कार्यक्रमहरु आए पनि पूर्व प्रधानमन्त्री कोइरालाको नाममा केही पनि नआउनु दुःखद् भएको पनि गुनासो गरेकी छन् ।

बजेटले पूर्वप्रधानन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा निर्माणधिन अस्पताललाई कुनै न कुनै तरिकाबाट सम्बोधन गर्नु पर्ने माग गर्दै कांग्रेस नेतृ तथा सांसद कोइरालाले बजेटले आधुनिक कृषि प्रणालीलाई प्रबद्र्धन गर्ने, बाटो घाटो निर्माण, पर्यटन तथा नेपालीहरुको मौलिक संस्कृतिको विकास र विस्तारलाई मुख्य प्राथकिता दिनु पर्ने धारणा राखिन् ।

सांसद कोइरालाले अहिले मुलुक भूकम्पका कारण थिलथिलो भई हरेक क्षेत्र धरासयी भएकाले अहिले नै जनतालाई सरकारले थप करहरु थुपार्न नहुने तर्क राख्दै देशको आर्थिक विकास र सम्बृद्धिका लागि प्रस्तुत बजेटको प्रभावकारी कार्यान्वयनका लागि शुभकामना समेत दिएकी छिन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभाको बैठकमा आज पनि आ. ब. २०७५/०७६ को राजश्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट माथिको सामान्य छलफल जारी रहेको छ भने छलफलमा दलीय आधारमा सांसदहरुले बजेट माथि केन्द्रीत रहेर धारणा राखिरहेका छन् ।