काठमाडौं – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनले देशभर नुनको अभाव हुने अवस्था नरहेको स्पष्ट पारेको छ ।
बाढीका कारण कतिपय सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा कठिनाइ देखिएको छ । यही अवस्थाका कारण बजारमा नुनको समेत अभाव हुन सक्ने आशंका बढिरहेका बेला कर्पोरेसनले पर्याप्त मौज्दात रहेको जनाएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीका अनुसार अहिले कर्पोरेसनसँग करिब सात महिनासम्म देशभरका लागि पुग्ने नुन मौज्दात रहेको छ । त्यसैले तत्काल नुनको आपूर्तिमा समस्या नहुने उनको भनाइ छ ।राजभण्डारीका अनुसार नेपालमा खपत हुने नुन भारतबाट आयात हुँदै आएको छ । भारतबाट नुन ल्याउने प्रक्रियामा अहिले कुनै अवरोध नरहेको भन्दै उनले नियमित आयात जारी रहने बताए ।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा सडक, पुल, बजार तथा बस्तीमा क्षति पुर्याएको छ । कतिपय स्थानमा सडक सम्पर्कसमेत टुटेकाले दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या देखिएको छ । तर, कर्पोरेसनका अनुसार बाढीले नुनको मुख्य आपूर्ति प्रणालीमा तत्काल असर पारेको छैन । मौज्दातमा रहेको नुन र भारतबाट हुने नियमित आयातका कारण बजारमा आपूर्ति निरन्तर राख्न सकिने अवस्था रहेको छ ।
बाढी प्रभावित जिल्लामा नुनको उपलब्धताबारे चासो बढे पनि हालसम्म व्यापक रूपमा अभाव भएको जानकारी नआएको कर्पोरेसनले जनाएको छ । प्रवक्ता राजभण्डारीका अनुसार अहिलेसम्म धादिङको एउटा स्थानबाट मात्रै नुन आवश्यक रहेको जानकारी आएको छ । अन्य प्रभावित क्षेत्रबाट नुन अभाव भएको औपचारिक जानकारी प्राप्त नभएको उनले बताए । यसले बाढीका कारण अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या देखिए पनि नुनको हकमा तत्काल संकट नरहेको देखाएको छ ।
मुख्य सडक तथा पुलमा क्षति पुगेका कारण नियमित ढुवानी प्रभावित भए पनि नुन आपूर्तिलाई रोक्न नदिने कर्पोरेसनको तयारी छ । कुनै क्षेत्रमा नुनको अभाव देखिएमा सरकारले तोकेको वैकल्पिक सडक तथा मार्ग प्रयोग गरेर प्रभावित क्षेत्रमा नुन पुर्याइने प्रवक्ता राजभण्डारीले बताए । स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएर आवश्यकताअनुसार आपूर्ति व्यवस्थापन गर्ने कर्पोरेसनको योजना छ ।































































