डा. अबुल हुसेन अन्सारी


ADVERTISEMENT


नेपाल ४ जाँच ३६ वर्णको साझा फूलबारी हो। जहाँ हामी बन्धुत्वभावका साथ बाचिरहेका छौं। हामीमा सानो जात ठूलो जात, उचनीच, फरक धर्म संस्कृति भन्ने विभेद् छैन। हामी सबै भाषाभाषी र धर्म समुदायका मानिसको सम्मान गर्छौं। हिमाललाई दुख्दा पहाड र तराईंले सहयोग गर्छौं। पहाडलाई दुख्दा तराईं र हिमालले सहयोग गर्छौं। तपाईंलाई दुख्दा पहाड र हिमालले सहयोग गर्छौ यही नेपाली हुनुको पहिचान पनि हो। यतिबेला रसुवा बाढीका कारण नेपालको ठूलो भूभाग विपदमा छ। नेपाल प्राकृतिक विपद्‌को संवेदनशील मोडमा उभिँदा सम्पूर्ण नेपाली एकजुट भएर सहयोगमा जुटेका छौं। यो हाम्रो देशको मौलिक सुन्दरता हो। रसुवालगायत देशका विभिन्न भागमा आएको बाढी तथा विपद्‌को कठिन घडीमा नेपाली मुस्लिम नागरिक समाजले देखाएको मानवीय पहलकदमी र ऐक्यबद्धता हाम्रो एकताको ज्वलन्त उदाहरण बनेको छ।


ADVERTISEMENT

# # #


विपद्को समयमा मदरसाका मोल्बी, मोलाना, ओल्मा, मस्जिदका इमाम, ग्रान्ड मुफ्ती नेपाल, विभिन्न मुस्लिम संघसंस्था तथा सामाजिक अभियन्ताहरूले राष्ट्रिय स्तरमा “मस्जिदबाट राहत सहायता अभियान”को आह्वान गरेका थिए। सो आह्वानलाई सहर्ष स्वीकार गर्दै सम्पूर्ण मुस्लिम समाज एकताबद्ध भएर देशव्यापी राहत तथा उद्धार कार्यमा जुट्नु ऐतिहासिक र अत्यन्त प्रशंसनीय कदम हो। मधेस र तराईका नागरिकहरूले रसुवाको दुःखलाई आफ्नै दुःख सम्झेर गाउँ-टोलबाट चामल, दाललगायतका अत्यावश्यक राहत सामग्री संकलन गरी पीडितसमक्ष पुर्‍याएका छन्। “नेपालमा न पहाड मात्र छ, न मधेस मात्र, हामी सबै नेपाली हौँ र विपत्तिमा एकता नै हाम्रो शक्ति हो” भन्ने भावनालाई व्यवहारमै प्रमाणित गर्दै देशैभरिका मुस्लिमलगायत सम्पूर्ण समुदायले प्रधानमन्त्री राहत कोष र प्रत्यक्ष राहतमार्फत अतुलनीय आर्थिक एवं भौतिक योगदान पुर्‍याएका छन्।

देशका विभिन्न कुनाकाप्चादेखि वैदेशिक रोजगारीमा रहेका युवाहरूसम्मले यस अभियानमा अभूतपूर्व सक्रियता देखाएका छन्। झापाको मुस्लिम समाज विकास प्रतिष्ठान, मेची अन्जुमन इस्लामिया मदरसा र कनकाई मुस्लिम समाजदेखि बुटवलको मदिना मदरसा मस्जिद प्रबन्ध परिषद् र पाल्पाको मदरसा नुरुल हुदाले यस अभियानमा ठोस सहयोग पुर्‍याएका छन्। बागलुङको बुर्तिबाङस्थित मदरसा अहले सुन्नत गुलशन रजा, तनहुँको शुक्लागण्डकी मुस्लिम समुदाय र पोखराका पोखरा मुस्लिम समाज एवं इस्लामिक कल्याणकारी समाजको सक्रियता उत्तिकै अनुकरणीय छ।

त्यसैगरी काठमाडौंको खुशिबु मानव कल्याणकारी संस्था, एसियन लेदर फेमिली र साउदी अरबमा रहेका नेपालीहरूबाट प्राप्त सहयोगले मानवीय सेवाको दायरालाई फराकिलो बनाएको छ। कतारमा रहेको सुनसरी मुस्लिम समाज, इनरुवाको हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट, बर्जु र देवानगञ्जका मुस्लिम युवाहरू तथा लहानको जमिया इस्लामिक छर्रापट्टीले पनि राहत कोषमा उल्लेख्य योगदान गरेका छन्।

पश्चिम नेपालका नेपालगञ्जस्थित नेपाली मस्जिद, जामा मस्जिद, मदीना मस्जिद, मक्का मस्जिद, हम्बल मस्जिद र अन्सारियान मस्जिदका साथै कोहलपुरको नुरी जामा मस्जिद, बाँकेको नौरी मस्जिद र बर्दिया मोहम्मदपुरका मुस्लिम समाजले स्थानीय स्तरमा रकम संकलन गरी योगदान पुर्‍याएका छन्। मध्य-तराईका वीरगन्ज मुर्ली क्षेत्रका मुस्लिम समुदाय तथा अन्जुमन इस्लामिया मस्जिदले राहत सामग्री उपलब्ध गराएका छन्। यस्तै जनकपुरका मस्जिद हन्फिया, अल जामेअतुल हन्फियतुल गौसिया मदरसा र मदरसा गुलशने अजमेरी, कपिलवस्तु जामा मस्जिद, सिद्धार्थनगरको अल मदीना जामा मस्जिद, रौतहटको तैयबा गर्ल्स मदरसा र महोत्तरीको लोहरपट्टी एवं बलवाका मुस्लिम समुदायको ऐक्यबद्धताले राहत अभियानलाई थप सशक्त बनाएको छ।

यस्तै ‘मस्जिदबाट राहत सहयोग अभियान’अन्तर्गत सुनसरी मुस्लिम समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज ६२ लाख ४५ हजार ४९ जम्मा गरेको छ। वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका नेपालीहरू आबद्ध ‘सुनसरी मुस्लिम समाज कतार’ले पनि सोही अभियानमा ऐक्यबद्धता जनाउँदै चार लाख सहयोग रकम हस्तान्तरण गरेको छ। यस मानवीय पहलले मुस्लिम समाजभित्र रहेको एकता, सामाजिक जिम्मेवारी, परोपकार र मानव सेवाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ। यस राहत अभियानले मस्जिद र मदरसाको परम्परागत भूमिकालाई समेत नयाँ उचाइमा पुर्‍याएको छ। मस्जिद र मदरसा केवल नमाज पढ्ने थलो मात्र नभएर सामाजिक चेतना, नैतिक जागरण र सकारात्मक परिवर्तनको केन्द्र हो भन्ने प्रमाणित भएको छ। त्यसैगरी मदरसा धार्मिक शिक्षामा मात्र सीमित नरही नैतिकता, अनुशासन, सामाजिक जिम्मेवारी, सामाजिक सद्भाव र राष्ट्रप्रेम विकास गर्ने थलोका रूपमा स्थापित भएको छ।

विपद्को कठिन घडीमा समुदायले देखाएको यो अभूतपूर्व एकता केवल राहत र उद्धारमा मात्र सीमित नरही समाज निर्माणको दीर्घकालीन अभियानमा रूपान्तरण हुन आवश्यक छ। अब यही संगठित शक्ति र सामूहिक सेवाभावलाई समाजका दीर्घकालीन समस्याहरूविरुद्ध परिचालन गर्ने समय आएको छ। राष्ट्रिय स्तरमै मदरसा र मस्जिदहरूबाट लागू पदार्थ दुर्व्यसनविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्ने, दाइजो प्रथा जस्ता कुरीतिविरुद्ध सामाजिक अभियान चलाउने र बालविवाह, घरेलु हिंसा, अशिक्षा एवं अन्य सामाजिक विकृतिविरुद्ध सामूहिक रूपमा आवाज उठाउने दिशामा अघि बढ्नुपर्छ।

समाजमा देखिएका चुनौतीहरूलाई केवल आलोचना गरेर होइन, सामूहिक चेतना, शिक्षा, संवाद र व्यावहारिक पहलमार्फत समाधान गर्न सकिन्छ। विपद्‌का बेला ओल्मा, इमाम, ग्रान्ड मुफ्ती नेपाल, संघसंस्था, सामाजिक अभियन्ता र आम मुस्लिम समुदाय अगुवा जसरी मानव सेवामा जुट्यौँ, त्यही एकतालाई अब समाज सुधारको स्थायी, संस्थागत र रचनात्मक अभियानमा रूपान्तरण गर्नु नै आजको मुख्य आवश्यकता र राष्ट्रिय दायित्व हो। विगतका भूकम्प, कोरोना महामारी, कडा चिसो तथा बाढी-पहिरोजस्ता विपत्तिको घडीमा पनि सामुदायिक ऐक्यबद्धता जनाउँदै आएको मुस्लिम समुदायले यसपटक पनि राष्ट्रिय संकटमा हातेमालो गरेको छ। कठिन परिस्थितिमा देखाएको यो साहस, सहकार्य र सामाजिक उत्तरदायित्वले राष्ट्रिय एकता र भ्रातृत्वको बलियो सन्देश दिएको छ।