नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य शंकर भण्डारीसंग हिमालय पोष्टले गरेको कुराकानी : 


ADVERTISEMENT


तपाई कांग्रेसको युवा नेता हुनुहुन्छ । निर्वाचनको परिणामको मूल्याङ्कन गरिरहँदा अब कांग्रेस कसरी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ?


ADVERTISEMENT

# # #


केन्द्रीय समितीको लामो समीक्षात्मक बैठक पनि बस्यो । त्यहाँ सबैले आफ्ना विचार पनि राखे । त्यसमा एउटा पाटो छ । त्यो भनेको वाम गठबन्धनको प्रभाव हो । दोस्रो र तेस्रो एक हुँदा पहिलोलाई अवस्यपनि असर पार्छ । अर्को भनेको पार्टीको आन्तरिक कुरा हो । त्यसमा हामी सरकारमा बसेकाले निर्वाचनमा जुन रुपमा आउनु पर्नेथियो त्यो भएन । दोस्रो हामी रणनीतिक रुपमा पनि असफल भयौँ । कहीँ न कहीँ हामीले टिकट वितरणमा गल्ती गयौँ। यी कारणले नै हामीले अपेक्षाकृत रुपमा मत पाउन सकेनौँ ।

यसलाई नै मध्यनजर राखेर आगामी निर्वाचन जित्ने योजना हामीले बनाउनु पर्छ । त्यसका लागि सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । अर्को कुरा पार्टीमा सभापतिको भूमिका पनि हुन्छ । उहाँको पनि केही कमी कमजोरी भएको छ । यी सबै कुराहरुलाई सुधार गर्ने हो भने हामी आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्छौँ ।

निर्वाचनमा गठबन्धन बनाएका दुई ठूला कम्यूनिस्ट पार्टीे अहिले एक भएका छन् । यसमा कांग्रेसको प्रतिक्रिया के छ ?

यसको त हामीले स्वागत नै गरेका छौँ । नवनिर्मित पार्टीलाई हामीले शुभकामना नै दिएका छौँ । तर अहिलेको पार्टीका प्रमुख नेता तथा प्रधानमन्त्री ओलीको अभिव्यक्ति जसरी आएको छ । त्यसमा आग्रह र पूर्वाग्रह भएको जस्तो देखिन्छ । बहुमतमा उहाँले सरकार बनाउनु भएको छ । यसमा हाम्रो सल्लाह के छ भने बोल्ने होइन काम गरेर देखाउनुस् । कांग्रेसले प्रजातन्त्रको स्थापनादेखि राजनीतिक परिवर्तन र विकास निर्माणका कुराहरुमा जसरी काम गर्यो । ती कामहरुजस्तै अझ उत्कृष्ट रुपमा गर्नुपर्छ ।

त्यस कारण अहिलेका कम्युनिस्टले हामीलाई आग्रह र पूर्वाग्रहबाट प्रेरित भएर अभिव्यक्ति दिएर हुनेवाला केही छैन । त्यसले हामीलाई केही प्रभाव पार्दैन । तर देश बनाउनुपर्याे । त्यसकालागि नेपाली कांग्रेस सधैँ साथमा रहनेछ । दुई तिहाईको घमण्ड र अहंकार त्यागेर देश निर्माणमा सरकार लाग्नुपर्यो ।  पार्टी एकता गर्नुभएको छ । त्यसको फाइदा देशले उठाउन सक्नुपर्यो । तब पो एकताको काम लाग्यो । सरकारलाई कामको आधारमा सहयोग हुने कुरा हामीले पहिले पनि भनेका नै छौँ ।

पार्टी एकतापनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रतिपक्षीलाई हेपेको वा अपमान गरेको भन्ने किसिमका कुराहरु पनि बाहिर आए । यसमा तपाईको मत के हो ?

अब देशको प्रधानमन्त्रीको सम्मान त गर्नैपर्छ । एउटा पार्टीको अध्यक्षलाई हामी सम्मान नै गर्छौँ । तर त्यत्रो तहमा पुगेको मानिसले त्यही पनि हेक्का नराख्नु बडो दुर्भाग्य हो । कांग्रेस सशक्त प्रतिपक्षको रुपमा सदनमा उभिएको छ भन्ने हेक्का उहाँलाई छैन ? कांग्रेसको जनमत आफ्नो सरह छ भन्ने हेक्का उहाँलाई छैन ? त्यस कारण केपी ओलीले जुन विचार व्यक्त गर्नु भएको छ । त्यो अत्यन्त उत्ताउलो, उत्तेजनात्मक र गैरजिम्मेवार छ । यसमा हाम्रो खासै गुनासो त छैन । तर उहाँले पदीय हैसियतमा बस्नुपर्छ केपी ओलीमा अहिलकती पनि राजनीतिक चेतना छ भने । स्वर्गीय सुशिल कोइरालाको नेतृत्वमा संविधान जारी भइसकेपछि यही कम्युनिस्टको गठबन्धनमा सरकार बनेको होइन ? केपी ओली नै प्रधानमन्त्री बनेका होइनन् ? तीन तहका निर्वाचन गर्ने उद्देश्यले बनेको त्यो सरकारले के गर्यो ? त्यसका लागि कती भूमिका खेल्यो, त्यो हामीसंग प्रमाण छँदैछ ।

९ महिना हावादारी कुरा गरेर उहाँ बाहिरिएको होइन ? कांग्रेस सत्तामा गइसकेपछि र कांग्रेसको नेतृत्वमा सबै निर्वाचन सम्पन्न भए । हामीले निर्वाचन गराईदियौँ र त उनीहरुले जित्न पाएका हुन् । नत्र यो देशमा निर्वाचन हुने वातावरण थियो ? यो कुराको हेक्का राख्नु आवश्यक छ । त्यस कारण कांग्रेसको बारेमा तल्लो स्तरको टिप्पणी गर्नुको कुनै तुक छैन । लोकतान्त्रिक परिपाटीमा सबैको सम्मान गर्न सिक्नुपर्छ ।

निर्वाचन सम्पन्न भएपछि देशले स्थायी सरकार पाएको छ । विकास र समृद्धिको नारा लिएर अगाडि बढिरहँदा सरकारका गतिविधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? विकास र समृद्धिको गन्तव्यमा सरकार पुग्ला त ?

अहिलेका कामहरुको मुल्याङ्कन गर्दा सरकार पूरै अधिनायकवाद शैलीमा जाने कोशिस गरिरहेको छ । प्रशासनिक क्षेत्रमा पुरै कब्जाको रणनीतिमा सरकार गएको छ । हरेक व्यावसायीलाई आतंकित पार्नेगरी काम भएको छ । कुटनीतिक क्षेत्रमा आफ्नो मर्यादाको ख्याल राख्ने हैसियत सरकारले देखाउन सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा पनि धेरैकुरा देखियो । अघिल्लो पटक कांग्रेसलाई लम्पसार वादी भनेको एमाले अहिले आफू महालम्पसार परेको सबैले छर्लङ्गै देखेका छन् ।

१० दिनसम्म सरकारले गरेका काम पनि हामीले हेरेका छौँ । यस्तै हो भने के गर्नु पर्छ त्यो हामीलाई राम्रोसंग थाहा छ । संसदीय परिपाटीमा आफ्नो प्रतिपक्षीलाई मयार्दाहीन व्यवहार गरेर सरकार अगाडी बढ्न सक्दैन । अहिलेसम्म सरकारले राम्रो लक्षण देखाएको छैन । पार्टीले समीक्षा गरेपछि आवश्यक रणनीति अनुसार हामी अघि बढ्छौँ । यो सरकार अरुबाट सञ्चालित हो । यसबाट के भरोसा गर्न सकिँदैन । यो सरकार धेरै समय टिक्दैन । भर्खरै झलनाथ खनालको अभिव्यक्ति पनि तपाईले सुन्नु भयो होला । पार्टी एकताको विरोध वरिष्ठ नताहरुले गरिरहेका छन् । जबरजस्त किसिमले बनाएको यो एकताबाट देशलाई धेरै धोका हुन सक्छ ।

समृद्ध नेपाल र बलियो कांग्रेस बनाउनका लागि तपाई जस्ता युवाहरुको अबका दिनमा भूमिका के हुनुपर्छ?

दुई चार अक्षर पत्रिकामा लेख्दैमा, धेरै बोल्दैमा युवा भन्ने हुँदैन । त्याग र बलिदान, जोश र शाहसले युवा बनाउँछ । त्यस कारण म लगायतका युवामा जुन किसिमको युवाको परिभाषा छ । त्यो गलत छ । आफूमा देखिएको महोत्वाकांक्षालाई कम गर्दै अझ बढी त्यागको भावना देखाउन जरुरी छ । यी कुराहरुलाई ग्रहण गर्दै हामी अगाडी बढ्नुपर्छ । जहाँसम्म कांग्रेसलाई बलियो बनाउने कुरा छ । त्यसमा हामीले सर्वप्रथम आफ्नो जग बलियो बनाउनु पर्छ । पार्टीभित्रको सांगठनिक एकतााई ध्यान दिनुपर्छ ।

अन्त्यमा, जसरी वाम शक्तिहरुको एकता भयो । अब प्रजातान्त्रिक पार्टीपनि एक हुनुपर्छ भन्ने कुरा आएको छ । यसमा के भन्नुहुन्छ ?

एकदमै । नेकपालाई सही मार्गमा हिँडाउन पनि यो अब अपरिहार्य भइसकेको छ । एकतन्त्रीय शासन मन नपराउने राष्ट्रवादी तथा प्रजातान्त्रिक शक्ति एक हुनुपर्छ । कांग्रेसले त्यसको अगुवाई गर्नुपर्छ ।