फागुन ३ । “मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन” भन्ने उदाहरणका रुपमा संक्रान्तिबजार–९, तेह्रथुमकी ४४ वर्षीया सानुमाया नेपाली लाई लिन सकिन्छ । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै छिन् ।


ADVERTISEMENT


एक वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले नाति वसन्तसँगै कक्षा १ मा पढ्दै छिन् । उनले भनिन्, “पढ्ने उमेरमा पढ्न पाइएन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सदमा छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।” लेखपढ गरेपछि केही नभए पनि आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


“सही गर भनेर लगाउँछन्, आफूलाई आउँदैन” सानुमायाले भनिन्, “हात समातेर ल्याप्चे लगाउँदा कस्तो ठाउँमा ल्याप्चे लगाएँ भन्ने शङ्का  हुन्छ ।” उनलाई विद्यालय गएर किताब पढ्न, मनमा लागेका कुरा लेख्न र पढ्न सक्ने हुने मन छ । उमेरमा पढ्न नपाएको प्रति उनलाई पछुतो छ । सुरुमा प्रौढ कक्षा गएकी सानुमाया अहिले विद्यालय जान थालेकी हुन् ।
सानुमाया नियमित विद्यालय आउने गरेको प्रअ हरिप्रसाद लामिछानेले बताए ।

त्यसो त देख्नेलाई पनि अचम्मै लाग्ने गरी सानुमाया हरेक दिन हातमा सानो नानीले बोक्ने झोला बोकेर नातिसँगै स्कुल गइरहन्छिन् तर उनी आफू पढ्नभन्दा पनि नातिलाई पुर्याउन गएको भनेर सोच्ने गर्छिन । सानुमायाका तीन भाइ छोरा छन् । उनीहरुको विवाह भइसकेको छ ।

स्कुल जान थालेपछि उनलाई अहिले साउँ अक्षरसँगै नाम लेख्न, पढ्न आउन थालेको छ । सानुमायाको मेहनतले उनलाई छिट्टै सफलता मिल्ने शिक्षक उमानाथ भण्डारीले बताए । “भर्ना भएको चार महिनामै कक्षा १ मा पुगेकी हुन्, उनको मेहनत अहिले पनि राम्रो छ, उत्सुक छिन् ” भण्डारीले भने ।

चौतारीमा महिला अधिकार, दलित अधिकार, भूमि अधिकार, शिक्षा अधिकारलगायतबारे थाहा पाउने भएपछि सानुमाया जस्ता थुप्रै महिलाले सिक्ने अवसर पाएको सदस्य सुशीला मग्राँतीले बताएन् । “अभियान चौतारीमा शिक्षा अधिकारबारे छलफल हुँदा अरु महिलालाई पनि सानुमाया जस्तै विद्यालय गएर पढ्न प्रोत्साहन गरेका छौँ”, स्थानीय सामाजिक परिचालक सीता निरौलाले भनिन् ।

गाउँका महिलामध्ये अधिकांश निरक्षर छन् तर इच्छा हुनेले साक्षर बन्न चाहे चौतारीमार्फत सजिलै विद्यालयसम्म पुग्ने वातावरण सिर्जना गरिदिने उनले बताइन् । जिल्लालाई हाल पूर्ण साक्षर बनाउने अभियान समेत चलिरहेको छ । जिल्ला शिक्षा कार्यालयले सामुदायिक अध्ययन केन्द्रमार्फत पूर्ण साक्षर बनाउने अभियान चलाइरहेको छ ।

“निरक्षरलाई साक्षर बनाउन गाउँ गाउँमा प्रौढ कक्षा सञ्चालन भइरहेका छन्” जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले भने । “ज्ञान कहिल्यै बूढो हुँदैन” उहाँले भने, “त्यसैले ज्ञान सिक्न पनि उमेरले छेक्दैन ।”