भक्तपुर– चिकित्सकको प्रेस्क्रिप्सनबिना लागू तथा मनोद्विपक औषधि बेच्ने दुईजना औषधि व्यवसायीसहित पाँचजनालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरको सूर्यविनायक नपा ५ सल्लाघारीस्थित अरनी हाइवे पोलिक्लिनिक प्रालि फार्मेसी सञ्चालक सृजना घिमिरे र अर्विषा फार्मेसीका सञ्चालक विक्रम खड्कालाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


त्यस्तै अरनी हाइवेबाट औषधि खरिद गर्ने भक्तपुरको मध्यपुर थिमी नपा ९ निकोसेरा बस्ने २० वर्षीय किरण कासुला र अविषाबाट औषधि खरिद गर्ने काभ्रेको काशीखण्ड २ बस्ने २० वर्षीय विकास लामा तथा भक्तपुरकै सूर्यविनायक नपा २ बालकोट बस्ने २३ वर्षीय रुपक खत्रीलाई नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


लागू तथा मनोद्विपक औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री वितरण गर्न पाइँदैन । तर यी औषघि चिकित्सकको प्रेस्क्रिप्सनबिनै बिक्री वितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले प्रेस्क्रिप्सनबिना औषधी खरिद गर्ने तीनजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

उनका अनुसार उनीहरुको बयानको आधारमा अरनी हाइवे पोलीक्लिनिक प्रालि फार्मेसी युनिट र अर्विषा फार्मेसीका सञ्चालकहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले ती दुई पसलमा खानतलासी गर्दा दर्ता नभएका तथा प्रेस्क्रिप्सनबिना बेच्न नपाइने औषधिसमेत बरामद गरेको छ । प्रहरीले अरनी होइवे पोलीक्लिनिकबाट ५० ग्रामको ट्रमा ९० क्याप्सुल, कोड १३७ ट्याबलेट, ५ ग्रामको क्लोजेप १२० ट्याबलेट र २ ग्रामको क्लोजेप ९५ ट्याबलेट बरामद गरेको छ।

त्यस्तै अर्विषाबाट ५० ग्रामको ट्रमा एकहजार आठसय क्याप्सुल बरामद भएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । उनले उक्त औषधि बरामद भएपछि तत्काल औषधि व्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालयलाई खबर गरी विभाग र प्रशासनका प्रतिनिधिको उपस्थितिमा दुइटै पसलमा सिलबन्दी गरिएको बताए ।

उनका अनुसार औषधि बिक्री गर्ने दोलखाको तामाकोसी गाउँपालिका ३ स्थायी घर भएकी घिमिरे र कैलालीको टीकापुर २ स्थायी घर भएका खड्कासँगै औषधि खरिद गर्ने तीनजनालाई कारबाहीको लागि औषधि व्यवस्था विभाग बुझाइएको छ ।