विराटनगर– पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कोसी पुलको बिचमा परेका ठुलठुला खाल्डाको कारण यात्रा सकसपुर्ण बन्न थालेको छ ।


ADVERTISEMENT


खाल्डामा चिप्लिएर गत असार ६ गते हेटौडाबाट विराटनगर जाँदै गरेको स्कार्भेटर बोकेको ट्रक कोसी नदीमा पल्टियो । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भयो भने सात जना घाइते भए ।


ADVERTISEMENT

# # #


पुलको बिचमा बनेका खाल्डाको कारण दैनिक साना ठुला दुर्घटना हुने गरेको छन् । पुल समयमा नै मर्मत नभएको कारण यात्रुहरू दुर्घटनाको शिकार हुने गरेका छन् । स्थानीय यात्रु वाहक बस चालक समीर खानकाअनुसार विगत २ वर्षदेखिको यो समस्या अझै समाधान हुन सकेको छैन । त्यसले गर्दा कतिपय अवस्थामा बाइक, कार लगायत साना सवारी साधन ठोक्किने र दुर्घटना हुने गरेको उनी बताउँछन् ।

गाडीको गति तीव्र हुने र खाल्डोमा परेर दुर्घटना हुने गरेको उनको भनाई छ । पुलको समय समयमा मर्मत नहुँदा यस्तो समस्या आइपरेको बताउँछन् अर्का सवारी चालक टेकबहादुर बराइली । बिचमा गाडी नै भासिने गरी दुर्घटना हुने गरेको उनको अनुभव छ । नेपालसँगको सम्झौताअनुसार कोशी ब्यारेजको मर्मतदेखि ढोका खोल्ने र बन्द गर्ने काम भारतको जिम्मामा छ ।

मर्मतको जिम्मेवारी नेपाल पक्षको नभएको कारण कहाँ कसलाई भन्ने भनेर सधैँ समस्या भोगिरहनु परेको उनी बताउँछन् । पुलको मर्मतका लागि नेपालले केही पनि गर्न नसक्ने सडक डिभिजन कार्यालय बिराटनगरका प्रमुख जितेन्द्र चौधरी बताउँछन् । उनका अनुसार पुलको पूर्वी भागको मर्मत नेपाल पक्षले गरिरहेको तर पुलको बिच भागबाट जमेको पानी छिर्ने कुनै माध्यम नभएको कारण सडक चाँडै भत्कने गरेको छ । – आजको नागरिक दैनिकबाट