नारायण ढुंगाना, चितवन– अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले ।


ADVERTISEMENT


चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिक विपत्तिले मन छोयो । उनीहरुले मार्कुसलगायत केही साथीहरुलाई जम्मा गरेर तत्कालै एउटा संस्था बनाए, ‘धन्यवाद नेपाल हिल्फे ।’


ADVERTISEMENT

# # #


उक्त संस्थामार्फत अस्ट्रियामा विशेष उत्सवका बेला मःम र समोसा बेचेर आर्थिक सङ्कलन सुरु गरे । त्यही कामबाट आएको रकमले नेपालका विभिन्न क्षेत्रमा पीडामा परेकालाई सहयोग गर्न थाले । यो क्रम आजसम्मै जारी छ । त्यो बेला भूकम्पमा ज्यान गएकाका परिवारलाई सहयोग गर्ने थियो, अब निरन्तर विपन्नलाई सहयोग गर्ने सोच बनाएको मायाँको भनाइ छ । मङगलबार उनीहरुले चितवनको रत्ननगरस्थित चेपाङ बालबालिकाका लागि रु तीन लाख पाँच हजारभन्दा बढीका विभिन्न सामग्री सहयोग गरेका छन् । सहयोग गर्न अस्ट्रियाबाट इलमर मुलर आफैँ आए ।

उनले रत्ननगरमा रहेको गाँमबेसी चेपाङ केन्द्रमा बसेर अध्ययन गर्न थालेका बालबालिकालाई दुई तह भएको १५ थान फलामे ओछ्यान र विभिन्न खाद्यान्न सामग्री हस्तान्तरण गरे । उक्त सामग्री रु तीन लाख पाँच हजारको रहेको स्थानीय समाजसेवी शिरलाल परियारको भनाइ छ । परियारका अनुसार आज श्ययासहित चामल, नुन, चिउरा, भूजालगायत सामग्री सहयोग गरिएको छ ।

यसअघि उनीहरुले ती बालबालिकाका लागि १०–१२ लाखबराबरको डाइनिङ हल, भान्छाकोठा निर्माण गरेका छन् भने पटकपटक खाद्यान्न सहयोग तथा लत्ताकपडा सहयोग गरेका सो क्रममा जानकारी दिइएको थियो । सामग्री हस्तान्तरणपछि इलमर मुलरले आफ्नो देशमा साथीहरु मिलेर सङ्कलन गरेको रकम ल्याएर नेपालका विपन्न चेपाङलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।

इलमरले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धतासमेत जनाएका छन् । उक्त कार्यक्रमलाई लायन्स क्लब अफ चितवन सौराहा र लियो क्लब अफ चितवन सौराहाले संयोजन गरेको हो । सौराहा लायन्सकी इलेक्टेड प्रेसिडेन्ट सुजाता विष्टले विदेशमा मम र समोसा बेचेर नेपालका विपन्नलाई सहयोग गर्ने अभियानको प्रशंसा गरे।

सो क्रममा अर्का समाजसेवी सन्तबहादुर केसीले उनीहरुका लागि रु पाँच हजार रकम सहयोगसमेत गरे । सो क्रममा सौराहा लियोका अध्यक्ष भीम अधिकारी तथा सन्तबहादुर केसीले विपन्नलाई सहयोग गर्नु आफैँमा महत्वपूर्ण भएको प्रतिक्रिया दिए ।

इलमर र मायाँ मुलर मिलेर यसअघि चितवनका कविलासस्थित चौकीडाँडा, माडी, शक्तिखोर र काभ्रेमा जस्तापाता, खाद्यान्न पनि सहयोग गरिएको थियो ।