एजेन्सी, लन्डन– जोसे माउरिन्होलाई यसै वर्ष प्रशिक्षकमा नियुक्त गरेको म्यानचेस्टर युनाइटेडको अग्नी परीक्षा आज राती साढे १२ बजे हुँदैछ। सिजनको एक मात्र उपाधि जित्ने मोडमा रहेको म्यानचेस्टर युरोपा लिगअन्तर्गत डच क्लब आयाक्सविरुद्ध आज राती स्टोकहोल्ममा फाइनल खेल्दैछ।


ADVERTISEMENT


प्रिमियर लिगमा खराब प्रदर्शन गरेको म्यानचेस्टरका लागि राती आयाक्सलाई पराजित गर्दै पहिलो युरोपा लिग जित्ने मात्र नभई च्याम्पियन्स लिगमा प्रवेश गर्ने सुनौलो मौका पनि छ। यसपालि माउरिन्होको नेतृत्वमा म्यानचेस्टर प्रिमियर लिगको छैटौं स्थानमा थन्किएको थियो। तर, युरोपा लिग जितेको खण्डमा यो क्लब प्रिमियर लिग विजेता चेल्सी, टोटेनहाम र म्यानचेस्टर सिटीसँगै च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्नेछ।


ADVERTISEMENT

# # #


युरोपा लिगको विजेताले सिधै च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश पाउने प्रावधान रहेको छ। म्यानचेस्टरमा आत्मघाती बम आक्रमण भएको २ दिनपछि म्यानचेस्टर युनाइटेड फाइनल खेलका लागि मैदानमा उत्रिँदैछ। २२ सर्वसाधारणको ज्यान गएको यो घटनाको निन्दा गर्न म्यानचेस्टरका खेलाडी कालो आर्मब्यान्ड लगाएर मैदानमा उत्रिँदैछन्।

बम आक्रमणमा ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौनधारण पनि गरिनेछ। लिभरपुल प्रिमियर लिगमा चौथो भएर च्याम्पियन्स लिगका लागि छनोट भएपनि उसले समूह चरणमा प्रवेश पाउन प्लेअफ म्याच खेल्नु पर्नेछ।

आयाक्सले १९९६ देखि युरोपको कुनै पनि प्रतियोगिताको फाइनल खेलेको छैन्। प्रशिक्षक पिटर बोस्जेका अनुसार म्यानचेस्टर आजको खेलमा आफ्नो क्लब झै आक्रामक रुपमा प्रस्तुत हुनेछ। तर, उनी युवा खेलाडीले भरिएको आफ्नो क्लबले अनुभवी विपक्षीलाई परास्त गर्ने दावी गर्छन्।

बोस्जेले डच क्लबमा पुनः आक्रामकता भित्र्याएका छन्। र, उनको उद्देश्य माउरिन्होको टिमविरुद्ध स्वभाविक फुटबल खेल्नु हुनेछ। ‘म्यानचेस्टरलाई हराउने एउटै उपाय हामीले स्वभाविक खेल खेल्नु पर्नेछ, जुन हामीले यो सिजन विकाश गरेका छौं, जसलाई म आयाक्सले खेल्ने शैली भन्ने गर्छु,’ डच प्रशिक्षकले भने। उनले यो सिजन आफूले दुई विपरित शैलीलाई प्रयोगमा ल्याएको र म्यानचेस्टरविरुद्ध जुन प्रभावशाली देखिन्छ, त्यसलाई प्रयोग गर्ने बताए।

आयाक्सले पछिल्लो समय युवा खेलाडीलाई बढि प्रयोग गरेको छ। उसले औषत २० वर्ष १ सय ३९ दिनका खेलाडीलई लिगमा उतारेको थियो।

आजको खेलमा म्यानचेस्टरका डिफेन्डर एरिक बेली अनुपस्थित रहने छन्। उनी सेल्टा भिगोविरुद्ध सेमिफाइनलमा रातो कार्ड खाएर बाहिरिएका थिए। स्विडिस स्ट्राइकर जाल्टन इब्राहिमोभिक, जसले युरोपा लिगको फाइनल आयोजना हुने फ्रेन्ड्स एरिनामा सन् २०१२ मा इङ्ल्यान्डविरुद्ध ४ गोल गरेका थिए, चोटका कारण अनुपस्थित रहने छन्।

३५ वर्षीय इब्राहिमोभिक गत महिना अन्तिम पल्ट म्यानचेस्टरको टोलीमा देखिएका थिए। उनी घुँडाको चोटका कारण विश्राम गरिरहेका छन्।

डिफेन्डरद्धय लुक शा र मार्कुस रोजा तथा विङगर आस्ले योङ पनि आज अनुपस्थित रहने छन्। दुवै टोलीका ९ हजार ५ सय कट्टर समर्थक रंगशालामा रहने बताइएको छ। रंगशालाको क्षमता ५० हजारको हाराहारीमा छ।

आयाक्स यो सिजन डच लिगको दोस्रो स्थानमा रहन सफल भएको छ। आज यो क्लबको पनि लेफ्ट ब्याक निक भिर्गेभर प्रतिबन्धका कारण अनुपस्थित रहने छन्। अनुभवी खेलाडीको रुपमा लास चोने मात्र टिममा उपस्थित रहने सम्भावना रहेको छ।

माउरिन्होले आयाक्सविरुद्ध अघिल्लो ६ भिन्तमध्ये सबैमा जित निकालेका थिए। तर, उनले पछिल्लो पल्ट आयाक्सलाई हराउँदा उनी स्पेनिस क्लब रियल म्याड्रिडमा आवद्ध थिए।