काठमाडौँ– प्रभावकारी अनुसन्धान तथा अभियोजनको लागि प्रहरी र सरकारी वकिलहरुबीच प्रदेश नं.३ मा दुई दिवसीय सम्मेलन भएको छ । ‘विश्वासिलो र भरपर्दो फौजदारी न्याय प्रशासन, वस्तुगत प्रमाणमा आधारित अनुसन्धान र अभियोजन’ भन्ने नाराका साथ उक्त दुई दिने सम्मेलन काठमाडौँमा शनिबार सम्पन्न भएको हो ।


ADVERTISEMENT


सरकारवादी फौजदारी मुद्दाहरुको अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुबीच सम्वन्वय र सहकार्य स्थापना गर्ने उद्देश्यले देशका सबै प्रदेशमा सो कार्यक्रमको आयोजना गरिएको नेपाल प्रहरीले बताएको छ ।


ADVERTISEMENT

# # #


प्रहरी अपराध अनुसन्धान विभागको आयोजना र महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा भएको यस कार्यशाला गोष्ठिमा आगामी भदौँ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन लगायतका नयाँ फौजदारी कानुनको कार्यान्वयनको लागि तत्काल गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गरी कार्यान्वयन गर्न गम्भीर छलफल भएको प्रहरीले जनाएको छ ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले प्रमाणबिना अपराधी पत्ता लगाई न्यायको घेरामा ल्याउन सकिन्न भन्ने कुरा राख्दै भष्टाचारलाई हटाउने दिशामा समेत लाग्नु पर्ने बताए । यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुनी राज्य भएन भने राज्य संयन्त्रनै फेल हुने बताउँदै आज नयाँँ ऐनको हुन गइरहेको प्रादुर्भावका कारण पुरानो सपना साकार भएको धारणा राखे ।

त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले न्याय पाउनको लागि अनुसन्धान हुनु पर्ने र प्राभावकारी अपराध अनुसन्धानलाई प्राथमिकता राखेको जानकारी दिए । उनले बयानमुखी भन्दा प्रमाणमुखी अनुसन्धानमा जोड आजको आबश्यकता रहेको कुरा समेत औल्याए ।
नायब महान्यायाधिवक्ता किरण पौडेलले अभियोजन कर्ता र अनुसन्धानकर्ता बीच समान सोचको विकास गरी तत् अनरुप परिचालित हुनु पर्नेमा बताए ।

यस्तै प्रहरी अपराध अनुसन्धान विभागका प्रमुख डीआईजी धिरु बस्नेतले सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरीले लागु गरेको अपराध कार्य योजना (सीएपी)का साथै यसका रणनीति बमोजिम कार्य सम्पादन गर्नु र अभियोजन सम्बन्धमा देखिएका समस्यालाई पहिचान गरी समाधान गर्ने यस सम्मेलनको उद्देश्य पूर्ति भएको बताए । नयाँ कानूनी व्यवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरुपता कायम गर्न, अनुसन्धानकर्ता र अभियोजनकर्ताहरुको बीचमा समन्वयको विकास गर्न सम्मेलनको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रहरीले यस अघि प्रदेश नं १ र २ मा असार १ र २ गते, प्रदेश ४ र ५ मा ८ र ९ गते तथा प्रदेश ६ र ७ मा असार १५ र १६ गते सरकारी वकिल, नेपाल प्रहरी अधिकारी र चिकित्सकहरु लगायत अन्य पदाधिकारीको सहभागितामा सम्मेलन गरेको थियो ।