काठमाडौं–स्पेनिस क्लब रियल मड्रिडमा ९ वर्ष विताएका स्टार क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महंगो खेलाडी बन्दै मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग आवद्ध भए । उनी १ सय १२ मिलियन यूरोमा चार वर्षका लागि यूभेन्ट्स गएका हुन् ।


ADVERTISEMENT


सन् २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४ सय ५१ गोल गर्दै कीर्तिमानसमेत राखे ।


ADVERTISEMENT

# # #


पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । ३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पल्ट बलोन डी ओर अवार्ड जितेका छन् ।

रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत रहेका उनले चार सय ५१ गोल गरेका छन् । यस्तै चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका रोनाल्डोले गएको मे महिनामा पछिल्लो संस्करणको उपाधि जिताए ।

उनले रियल छाड्ने भए पछि आफूले बिताएका वर्षहरुको सम्झना गर्दै पुरानो क्लबका नाममा एउटा भावुक पत्र लेखेका छन्ः

यस्तो छ पत्र

मैले रियल मेड्रिड क्लब र मेड्रिड सहरमा बिताएका वर्ष जिन्दगीका सबैभन्दा खुसीले भरिएका वर्ष थिए ।

म अहिले क्बल, प्रशंसक र यो सहरप्रति हृदयदेखि नै आभारी छु । मप्रति सहृदयता र माया देखाउने सबैप्रति पनि आभारी छु ।

मलाई विश्वास छ, जिन्दगीको नयाँ अध्याय सुरू गर्नेबेला आइसक्यो त्यही भएर मैले क्लबसँग छोडेर जान अनुमति मागें । म प्रशंसक र सबैजनालाई यो कुरा बुझिदिन आग्रह गर्छु ।

मैले जिन्दगीका सुनौला ९ वर्ष यहाँ बिताएँ । हरेक वर्ष विशेष भए । यो उत्साहको समय थियो साथसाथै ती वर्षहरू कठिन पनि थिए । किनकी रियल मेड्रिडसँगको अपेक्षा उच्च थियो । जे भए पनि मैले जसरी यहाँ युनिक तरिकाले फुटबलको आनन्द लिएँ त्यो कहिल्यै बिर्सने छैन ।

मैदान र ड्रेसिङ रुममा म अदभुत् साथीहरूसँग हुन्थे। समर्थकबाट अविश्वनीय माया पाएँ । हामीले सँगै तीन पटक च्याम्पियन्स लिगको उपाधि उचाल्यौं । पाँच वर्षमा चार पटक प्रतियोगिता जित्यौं । योसँगै व्यक्तिगत रूपमा पनि मैले चार पटक ब्यालेन डे अर जितें । तीन चोटी गोल्डेन बुट पाएँ । यसले मलाई सन्तोष मिलेको छ ।

यो क्लबमा मैले बिताएको समयमा हरेक कुरा अनौठा र असाधारण भए ।

रियल मेड्रिड मेरो र मरो परिवारको मनमुटुमा बसेको छ ।

त्यही भएर पनि यतिबेला म सबैभन्दा बढी धन्यवाद भन्न चाहन्छु–क्बल, अध्यक्ष, निर्देशक, सहकर्मी, सबै प्रशिक्षक, चिकित्सक, फिजियो र ती सबै कर्मचारी जसले अनवरत हरेक क्षण हुनु पर्ने काम गरे ।
फेरि पनि हाम्रा समर्थक र स्पेनिश फुटबललाई मुरीमुरी धन्यवाद !

९ वर्षको अवधिमा म केही आउटस्ट्यान्डिङ खेलाडीविरूद्ध उत्रिएँ । मलाई उनीहरू सबैप्रति सम्मान छ ।

धेरै सोचविचार गर्दा जिन्दगीमा नयाँ अध्यायको सुरुआत गर्नुपर्ने निष्कर्षमा म पुगें ।

क्लब छोडेर जहाँ पुगे पनि यो जर्सीप्रति, यो ब्याचप्रति र सान्टिआगो बर्नाबाउप्रतिको निष्ठा जारी रहिरहनेछ ।

सबै जनालाई धन्यवाद । अँ साँच्चै ९ वर्षअघि पहिलो पटक रंगशाला छिर्दा भनेजस्तै, हाला मेड्रिड  !