भक्तपुर– अविरल वार्षासँगै आएको बाढीले भक्तपुर डुबानमा परेको छ । हनुमन्ते, खसाङखुसुङ र मनहरा खोला आपवासका थुप्रै बस्ती डुबेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार वर्षासँगै चाँगुनारायण नगरपालिका ७ मझुवामा पहिरो जाँदा बुद्ध लामाको घर पुरिएर तीन जनाको मृत्यु भएको छ । ७० वर्षका हिरा लामा, ६५ वर्षका पानमाया र ३० महिनाकी सम्पदा लामाको मृत्यु भएको हो । प्रहरीका अनुसार डुवानमा परेका १११ जनाको सुरक्षाकर्मीहरुले उद्दार गरेका छन् । उनीहरु मध्ये केही घाइते भएकाले अस्पताल समेत भर्ना गरिएको र उपचारपछि फर्किएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


ADVERTISEMENT

# # #


बाढीका कारण ५० घर टहरामा आंशिक क्षती भएको छ भने ५०० परिवार विस्तावित भएका छन् । यस्तै घरमा पानी पसेका कारण अन्नवाली लगायतका जिन्सी सामानमा क्षति पुगेको छ ।

डुबानबाट अथाह क्षति
राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो ।

हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौँ घर डुबानमा परेका छन् । यहाँका टहरा र माटोका घरहरु भत्किएका छन् भने जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ ।

डुबानका कारण अस्पतालको उपचार प्रभावित हुनाका साथै आकस्मिक कक्ष बन्द भएको छ । यहाँका प्राविधिक सामानहरुमा समेत क्षति पुगेको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिए । त्यसैगरी, डा इवामुरा अस्पताल डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिए ।

त्यसैगरी, मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पूरै डुबानमा परेको छ । जमीन सतहबाट आठ फिट माथिसम्म पानी आएपछि विशेषगरी भुइँतला घरमा बस्नेहरुको सुरक्षाकर्मी र नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उद्धार गरेको थियो ।

रातिदेखि नै पानी बस्तीमा पसेको थियो भने बिहानीपख बस्तीमा पानीको सतह बढ्दै गएको थियो । स्थानीयबासीको भुइँतलाको सामानहरुमा क्षति पुगेको छ । बहुतले घरका मानिसबाहिर निस्कन नसक्दा कार्यालय, व्यवसाय र विद्यालय जाने मानिसहरु घरमै रोकिए । भुइँतलासम्म डुबानमा परेपछि त्यहाँका बासिन्दालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।

सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढी पसेर विनाश गरेको छ । कौशल्टार पुलमा बाढीले क्षति पुर्याएको छ भने बालकोट, कौशल्टार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका भुइँतला घर र टहराहरु बगाएको छ । गोठहरुसँगै गाई, बंगुर, कुखुरा, बाख्राहरुसमेत पानीले बगाएको छ ।

मनोहरा सुकुम्वासी बस्ती पूरै डुबानमा परेको छ । जडीबुटीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती पूरै डुबानमा पर्दा यहाँका बासिन्दाले राति १ बजेदेखि जागा बस्नु परेको स्थानीयवासीले बताएका छन् ।

सात घण्टापछि खुल्यो राजमार्ग
डुबानका कारण सडकमाथि तीन फिटसम्म पानी बगेपछि मध्यपुरथिमि शंखधरचोकदेखि सूर्यविनायकसम्म बन्द रहेको अरनिको राजमार्ग सात घण्टापछि सञ्चालन भएको छ । बिहान ५ देखि बन्द राजमार्ग मध्याह्न १२ बजेपछि सञ्चालनमा आएको थियो । बन्द अवधिभर राजमार्गमा यातायातका साधन रोकिँदा यात्रुहरु अलपत्र परेका थिए ।