दमक– झापाको दमक नगरपालिकामा सञ्चालित अधिकांश योजना समयमै सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।


ADVERTISEMENT


दमक नगरपालिकामा जनप्रतिनिधि आएको गतवर्षको कार्यसम्पादनका अनुसार नगरमा सञ्चालित विभिन्न विकासे योजनाका ८० प्रतिशत काम पूरा भएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


नगरपालिकाको भौतिक निर्माण प्राविधिक शाखाका अनुसार गत वर्ष ३२८ वटा सञ्चालित योजनामध्ये ८० प्रतिशत हाराहारीमा मात्र काम सकिएको सो शाखाका प्रमुख इञ्जिनियर तीर्थनारायण श्रेष्ठले बताएका छन् ।

उनका अनुसार नगरक्षेत्रमा स्थानीय तहको रु २७ करोड ७३ लाख ३ हजार ५८ बजेटमा कल्र्भट २४ वटा, ग्राभेल सडक १०३, भवन तथा शौचालय निर्माण तथा मर्मत ५५, ढल २४, सिँचाइ चार, ग्राभेलसहित ढल नौ, ढलसहितको कालपत्रे सडक २५ र ढलसहित लकिङ योजना आठ गरी ३२८ वटा योजना सञ्चालनमा रहेका थिए ।

तीमध्ये गएको आवसम्ममा १३६ वटा योजना मात्र पूर्णरुपमा सम्पन्न भएको नगरपालिकाको भौतिक निर्माण प्राविधिक शाखाले जनाएको छ ।

यसबाहेक दमक नगरपालिकामा केन्द्रीय बजेटमा करीब रु डेढ अर्ब हाराहारीको लगानीमा पाँचवटा पुल रतुवा र मावा खोलामा निर्माण कार्य भइरहेको छ । यस्तै, पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय मातहतबाट रु २२ करोडको बजेटमा विभिन्न चारवटा सडक निर्माण कार्यसमेत सञ्चालन भइरहेको डिभिजन सडक कार्यालय, दमकले जानकारी दिएको छ ।

आइओएमले क्याम्पसलाई दियो बस
यसैबीच, अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले दमक बहुमुखी क्याम्पसलाई एउटा बस निःशुल्क उपलब्ध गराएको छ । क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थी बोक्नका लागि आइओएमले क्याम्पसलाई बस दिएको क्याम्पस सञ्चालक समिति सदस्य देउकुमार नेम्बाङले जानकारी दिएका छन् ।

दमक क्याम्पसमा धेरै टाढाटाढाबाट पनि विद्यार्थी अध्ययनका लागि आउने भएकाले उनीहरुलाई ओसार्नका लागि आइओएमले सो बस दिएको हो ।

आइओएमले क्याम्पसलाई २४ सिट क्षमता भएको बस उपलब्ध गराएको क्याम्पस सञ्चालक समितिका सदस्य नेम्बाङले बताए । मंगलबार एक कार्यक्रमका बीच सो बस क्याम्पसलाई हस्तान्तरण गरेको थियो ।

अब केही दिनभित्रमै क्याम्पस सञ्चालक समितिको बैठक बसेर बस सञ्चालनको कार्यविधि बनाई सञ्चालन शुरु गर्ने सञ्चालक समिति सदस्य नेम्बाङले बताएका छन् ।

यसअघि आइओएमले नै दमकको हिमालय मावि र सरस्वती माविलाई समेत विद्यार्थी बोक्नका लागि एक/एक वटा बस दिएको थियो । रासस