– रामचन्द्र पाण्डे


ADVERTISEMENT


१४ फेब्रुअरी २०१८, दुनियाँ प्रणय दिवसमा मग्न थियो । प्रेमीप्रमिका एक आपसमा उपहार दिएर सम्बन्धलाई प्रगाढ बनाउने प्रयासमा थिए । तर नेपाली क्रिकेट प्रशंसकको ध्यान भने नामिबियाको विन्डहकस्थित वान्डेरर्स क्रिकेट मैदानतर्फ केन्द्रित थियो । नहोस् पनि कसरी ? किनकि त्यही दिन नेपाली क्रिकेटको आगामी भविष्य निर्धारण हुँदैथियो ।


ADVERTISEMENT

# # #


सन् २०१५–१७ सम्म भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी आठ देशमध्ये सातौँस्थानमा समेटिएपछि डिभिजन १ बाट घटुवा भएको नेपाल नामिबियामा विश्व क्रिकेट लिग डिभिजन २ मा प्रतिस्पर्धा गरिरहेको थियो । ४ वटामा ३ खेल जितेको नेपाल क्यानडासंग अन्तिम खेल खेलिरहेको थियो । त्यो म्याच जितेमा नेपाल डिभिजन एकमा उक्लिएर मार्चमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनुका साथै इतिहासमै पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने ढोका खुल्ने थियो ।

तर परिस्थिति बिल्कुल फरक थियो । १९५ रनको चुनौति पच्छ्याएको नेपालका लगातार विकेट गुमेपछि खेल क्यानडाको पक्षमा गइसकेको थियो । ४२.१ ओभरमा १४४ रन हुँदा नवौँ विकेटका रुपमा आरिफ सेख आउट भएपछि नेपाल टिम र प्रशंसक निरास भइसकेका थिए । तर नेपाललाई जितका लागि अन्तिम विकेटमा ५१ रन चाहिएको अवस्थामा दशौँ नम्बरमा आएका करण केसीले सन्दीप लामिछानेसंग मिलेर जे गरे त्यो एक आफैमा अविश्वसनीय रह्यो ।

अन्तिम विकेटका लागि ५१ रन रन प्रहार गर्नु विश्व क्रिकेट इतिहासको एउटा दुर्लभ घटना हो । करणले आफ्नो ब्याटबाट जादु देखाएर नेपाली क्रिकेटलाई चार वर्ष पछाडी धकेलिनबाट त बचाए बचाए, निरास भइसकेका प्रशंसकलाई समेत प्रणय दिवसको अवसरमा एक अविस्मरणीय उपहार दिए ।

त्यसैको कारण डिभिजन दुईमा उपविजेता हुँदै नेपालले मार्चमा जिम्बावेमा विश्वकप छनोट खेल्यो । हङकङ र पपुवा न्युगिनीलाई पराजित गर्दै इतिहासमै पहिलो पटक चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो । अहिले नेपाल त्यही महत्वपूर्ण मोडमा उभिएको छ ।

आजको दिनबाट नेपाली क्रिकेट इतिहासमा नयाँ अध्यायको सुरुवात हुँदैछ । अर्थात् नेपालले आज आफ्नो इतिहासमै पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेलको यात्रा पिटर सिलर नेतृत्वको नेदरल्याण्डसंग खेलेर सुरुवात गर्दैछ । अर्को अर्थमा भन्दा बुधबार नेपाल र नेदरल्याण्डबीचको खेल एक दिवसीय खेल मात्र नभएर नेपाली क्रिकेटका लागि इतिहास पनि हो । त्यही इतिहासलाई सुखद बनाउने उद्देश्यका साथ पारस खड्काको कप्तानीमा नेपाल मैदान उत्रिनेछ ।

एमस्टेल्भिनस्थित भिएरा क्रिकेट मैदानमा नेपालले घरेलु टोलि नेदरल्याण्डसंग २ खेलको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ । यसका लागि जति नेपाल टिम उत्साहित छ त्यो भन्दा बढी नेपाली प्रशंसक उत्साहित छन् । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा नेपालको एकमात्र उद्देश्य जित्नु रहेको बताउँछन् । एमसीसी र नेदरल्याण्डसंगको टि-२० त्रिकोणात्मक सिरिज खेल्न इङल्याण्ड प्रस्थान गर्नुअघि उनले भनेका थिए, “हामी ऐतिहासिक क्षण नजिक छौँ । अवश्य पनि हामी राम्रो क्रिकेट खेल्नेछौँ । सबै खेलाडी फिट छन् । हाम्रो लक्ष्य नै जित्न’ हो ।”

यस्तै टिम कप्तान पारस खड्का पनि पहिलो एकदिवसीय खेल जितर नै सुरुवात गर्ने बताउँछन । उनले भने, “सबैजनाको यो चाहाना थियो कि नेपाल यो स्थानमा पुगोस् । नेदरल्याण्डसंग पहिलो एक दिवसीय खेल खेल्दैछौँ । धेरै खुसी छौँ र जितेर नै सुरुवात गर्ने सक्दो प्रयासमा छौँ ।”

कप्तान पारसको अविचलित यात्रा

‘पारस खड्का’ नेपाली क्रिकेटसंगै जोडिएर आउने नाम । अर्थात विगत १४ वर्षदेखि नेपाली क्रिकेटको नेतृत्वकर्ता । सन् २००४ मा मलेसियाविरुद्ध डेब्युगर्दा होस् वा २००९  मा नेपालको कप्तानीसम्हाल्दा उनले सोचेका थिएनन् होला कि नेपालले एकदिवसीय मान्यता पाउनेछ, त्यो पनि आफ्नै नेतृत्वमा । तर मेहनत गर्ने एकदिन अवश्य सफल हुन्छ भनेझै नेपालले आज त्यो सफलता हात पारेको छ उनै पारसको नेतृत्वमा ।

२०१० मा नेपालमा भएको विश्वक्रिकेट लिग डिभिजन पाँचको उपाधि जिताएर नेपाललाइ विश्वक्रिकेट संरचनामा पुर्याएका कप्तान पारसले त्यसको चार वर्षपछि बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकपमा सहभागी गराए ।

पारसले नेपाललाई अहिले डिभिजन एकमा मात्र पुर्याएका छैनन् एकदिवसीय अन्तर्राष्ट्रिय खेल समेत खेलाउँदैछन् । यो यात्रामा भलै अन्य खेलाडीहरुको पनि उत्तिकै योगदान होला । तर एउटा कप्तानको हिसाबमा उनले जुन योगदान दिएका छन् । त्यो आफैमा प्रशंसायोग्य छ । एउटै व्यक्तिको नेतृत्वमा यति खुड्किला पार गर्नु त्यती सहज हुन्न । तर यसमा पारस सफल भएका छन् । नेपाली क्रिकेट संकटमा परेको अवस्थामा ‘संकटमोचक’को भूमिकामा पटक पटक उनले उद्दार गरेका छन् । त्यसैले त नेपाली क्रिकेट प्रशंसक पारसलाई भगवान मान्छन् ।

शक्तिको सुखद विदाई

इङल्याण्डको लर्डस् मैदानमा त्रिकोणात्मक टि २० सिरिज र नेदरल्याण्डसंगको ऐतिहासिक एकदिवसीय सिरिज खेल्न युरोप उड्नुअघि भेट्रान बलर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेट जीवनबाट सन्यास लिने घोषणा गरिसकेका छन् । करिब डेढ दशकसम्म नेपाली क्रिकेटको उतारचढावको सहयात्री बनेका गौचनले नेदरल्याण्डको भ्रमण आफ्नो अन्तिम अन्तर्राष्ट्रिय भ्रमण हुने तर घरेलु भूमिबाटै सन्यास लिने स्पष्ट पारेका छन्।

‘विदेशमा हुने यो मेरो अन्तिम खेल हो। मैले पूर्ण रूपमा सन्यासको घोषणा गरेको छु,’ सन्यासको घोषणा गर्दै उनले भने, ‘घरेलु भूमिमा नेपालबाट अन्तिम खेल खेल्नेछु।’  उनको सुखद विदाईको लागि पनि नेपाल यो सिरिज जित्न हरसम्भव प्रयास गर्नेछ ।

युवा पुस्ताले भरिएको टिम

राष्ट्रिय क्रिकेट टिमबाट सन्यास लिने घोषणा गर्दै भेट्रान बलर शक्ति गौचनले भनेका थिए, “मलाई डर लागिरहेको थियो कि यदि मैले राष्ट्रिय टिमबाट सन्यास लिँदैगर्दा मेरो ठाउँमा आउने खेलाडीले म जस्तै खेल्न सक्छ कि सक्दैन भनेर । तर अहिले हाम्रो टिममा राम्रा युवा खेलाडी आएका छन् । जसरी मैँले ओडीआई खेलेर बिदा हुँदैछु, मलाई प्रतिस्थापन गर्ने पुस्ताले टेस्ट खेलेर विदा होस् भन्ने चाहन्छु ।”

हुनपनि अहिले नेपाली क्रिकेट युवापुस्तामा अडिएको छ । अनुभवी खेलाडीले खराब प्रदर्शन गरिरहँदा युवाहरुले आफ्नो प्रतिभा देखाएर नयाँ आशाको रक्तसञ्चार गरेका छन् ।  विश्व सबैभन्दा ठूलो क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपील)मा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै सनसनी मच्चाएका युवा स्टार सन्दीप लामिछाने टिममा छन् । सन् २०१४ मा बंगलादेशमा नेपाल सहभागी भएको ट्वान्टी ट्वान्टी विश्वकप टिभी अगाडी हेरेका १५ वर्षीय रोहित पौडेल अहिले नेपाली क्रिकेटको महत्वपूर्ण खम्बा भएका छन् ।

यस्तै गत नोभेम्बरमा भएको १९ वर्षमुनिको एशिया कप क्रिकेटमा साविक विजेता भारतीय यु–१९ टिमलाई इतिहासमै पहिलो पटक पराजित गर्दाका नायक दिपेन्द्रसिंह ऐरी नेपालका भरपर्दा ब्याट्समेन भएका छन् । यस्तै २० वर्षमूनिका ललित राजवंशी, अनिल कुमार शाह, आरिफ सेख लगायतका युवा खेलाडी टिममा छन् । यसले पनि नेपाली क्रिकेटको भविष्य सकारात्मक दिशातिर गइरहेको प्रमाणित गर्छ ।

एमसीसीले देखाएको उदारता

विश्व क्रिकेटको ‘मक्का’ मानिने इङल्याण्डको लर्डस् मैदानमा एसोसियट्स देशका लागि विरलै खेल्ने मौका मिल्छ । तर यसमा नेपाली क्रिकेट भने भाग्यमानी रहेको छ । उसले २ वर्षको अन्तरालमै दुई पटक लर्डसमा खेलिसकेको छ । नेपालले सन् २०१६ मा बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएको २ सय वर्ष पूरा भएको अवसरमा यही मैदानमा पहिलो पटक सेतो जर्सीमा विश्वकै पूरानो क्रिकेट क्लब मानिने मेरिलेवन क्रिकेट क्लब (एमसीसी)संग एकदिवसीय खेल खेल्ने मौका पाएको थियो । जुन खेलमा नेपाल ४१ रनले विजयी भएको थियो ।

भर्खरै नेपालले श्रीलङ्काली क्रिकेटका हस्ती तथा पूर्व कप्तान महेला जयबर्धनेले कप्तानी गरेको एमसीसी र नेदरल्याण्डसंग टि-२० त्रिकोणात्मक सिरिज खेलेर एक दिवसीय खेलका लागि नेदरल्याण्ड पुगेको छ ।

यस्तै एमसीसीले आगामी दिनमा पनि नेपाललाई सहयोग गर्ने प्रतिद्धता जनाएको छ । उसले क्रिकेटको विकासका गर्ने ‘लिगेसी टुर’को सुरुवात नेपालबाट नै गर्दैछ । २०१९ मा एमसीसीको टिम नेपाल आएर खेल्ने बताइएको छ । नेपाली क्रिकेटको विकासका लागि १ करोड भन्दा बढी रुपैयाँ सहयोग गर्ने उद्देश्यका साथ उसले अभियान सुरु गरिसकेको छ ।

अबको बाटो : चुनौति र अवसर

सन् १९८८ मा विश्व क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । डिभिजन पाँचबाट विभिन्न उतारचढाव पार गर्दै अहिले एक दिवसीय खेल खेलिरहँदा नेपाली क्रिकेट अभिभावकविहीन छ ।

आन्तरिक विवाद र राजनीतिक खिचातानीका कारण नेपाली क्रिकेटको प्रशासनिक निकाय क्रिकेट एशोसियसन अफ नेपाल (क्यान) दुई वर्षदेखि आइसीसीको निलम्बनमा छ । घरेलु संरचना ध्वस्त छन् । नयाँ प्रतिभा पहिचान गर्नका लागि अत्यावश्यक आन्तरिक प्रतियोगिता प्राय ठप्प छन् । एकदिवसीय खेल खेलिरहँदा त्यही अनुसारको भौतिक संरचना र सेवा सुविधा उपलब्ध छैन । नेपाली क्रिकेटले अहिले जति सफलता हात पारेको छ, त्यो सबै खेलाडीको मेहनतले नै प्राप्त भएको हो ।

आगामी चार वर्षका लागि प्राप्त एकदिवसीय मान्यतालाई सदुपयोग गर्नका लागि यो समयमा बढीभन्दा बढी खेल खेल्नु पर्छ । त्यसका लागि सबैभन्दा पहिले क्रिकेट संघ सक्रिय हुन आवश्यक छ । यी बाध्यताका बीच नेपाली क्रिकेटलाई सही मार्गमा डोर्याउनु प्रमुख चुनौति हुनेछ । यस्तै यही अगस्टमै नेपालले एसिया कप छनोट खेल्दैछ । त्यसमा प्रतियोगिताका दाबेदार मानिएका हङकङ र युएईलाई पराजित गर्न सके आगामी सेप्टेम्बरमा नेपालले विश्व क्रिकेटमा राज गर्दै आएका भारत र पाकिस्तानको राष्ट्रिय टिमसंग इतिहासमै पहिलो पटक खेल्ने अवसर पाउनेछ ।

आगामी दिनमा आउने यस्ता अवसरलाई सदुपयोग गर्न सकोस् । नेपाली क्रिकेट टिमलाई शुभकामना !