काठमाडौँ– एशिया कप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा त्यहाँको ब्लुमफिल्ड क्लबलाई जीतका लागि ३२४ रनको लक्ष्य दिएको छ ।


ADVERTISEMENT


टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३२३ रन बनायो । श्रीलङ्काको क्लब ब्लुमफिल्डविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङस खेले । दीपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर पुनले ८२ बल खेल्दै ९२ रनको योगदान दिए ।


ADVERTISEMENT

# # #


कप्तान पारस खड्काले २३, करण केसीले २६ र अनिलकुमार साहले १७ रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको ब्लुमफिल्डले यो समाचार तयार गर्दासम्म १३ ओभर खेल्दै २ विकेटको क्षतिमा ५५ रन जोडेको छ । नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई बुधबार ६७ रनले हराएको थियो । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्स क्लबसँग आगामी आइतबार खेल्नेछ ।

एशिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित संयुक्त अरब इमिरेट्स, हङकङ, सिङ्गापुर र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग यही भदौ १३, युएईसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिङ्गापुरसँग भदौ १७ र हङकङसँग भदौ १९ गते खेल्नेछ ।

प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् । प्रतियोगिता विजेताले यही भदौ २८ गतेदेखि युएईमा हुने एशिया कपमा सहभागिता जनाउन पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । छनोटको विजेताले एशिया कपको समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानसँग समूह चरणको खेल खेल्नुपर्नेछ ।

नेपाली टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार, विनोद भण्डारी, दीपेन्द्रसिंह, करण, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् । रासस