बेनी, म्याग्दी– ग्रामीण क्षेत्रमा सडक सुविधाको पहुँच विस्तारसँगै ऐतिहासिक महत्वका पाटीपौवाको अस्तित्व सङ्कटमा परेको छ । सडक र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि म्याग्दीका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा सङ्कटमा परेका हुन् ।


ADVERTISEMENT


जिल्लाका विभिन्न ठाउँमा रहेका सयवटाभन्दा बढी यस्ता पाटीपौवाको अस्तित्व संरक्षण र उपभोगको अभावमा सङ्कटमा परेको विगत ८ वर्षदेखि जिल्लाका धार्मिकस्थलमा जाने घोडेटो बाटो र बाटोमा पाटीपौवा निर्माण गर्दै आएका दरबाङका बमबहादुर शेरपुञ्जाले बताए ।


ADVERTISEMENT

# # #


उनका अनुसार विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर प्रवेशद्वारका रूपमा चिनिने म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको सिमानासम्मको पुरानो बाटोमा रहेका दर्जनौँ पौवा लोप भइसकेका छन् ।

मोटरबाटो र होटलको विकास हुने क्रमसँगै पाटीपौवा भत्काइने क्रम बढेको भगवती मन्दिर संरक्षण समिति ताकमका बुद्धिप्रसाद सुवेदीले बताए । परिवर्तित समयअनुसार ग्रामीण पहिचान झल्काउने यस्ता सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको उनको गुनासो छ ।

‘ग्रामीण पहिचान झल्काउने पाटीपौवा अहिले उपभोग हुन नसकेपनि भविष्यमा यसको महत्व हुनसक्छ’ राहुघाट क्षेत्रको विभिन्न स्थानमा तीर्थयात्रीको सुविधाका लागि पाटीपौवा निर्माण गरिदिनुभएका शेरपुञ्जाले भने

पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा र चौतारी निर्माण गर्ने चलन छ । पहिले बाटोमा होटलहरू थिएनन् । पाटीपौवामा बास बस्ने चलन थियो । शेरपुञ्जा भन्छन्, “ठाँटीमा बास बस्ने चलन हराएपनि यस्ता सम्पदाको संरक्षण हुन जरुरी छ ।”