यती एयरको नेपालगञ्जबाट आएको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेपछि बन्द भएको विमानस्थल करिब १२ घन्टापछि सञ्चालनमा आएको छ । विमानस्थलमा अवतरण गरेपछि धावनमार्गमा उक्त जहाज चिप्लिएको थियो । जेट स्ट्रीम, 9NAHW कलसाइनको जहाज राति साढे ८ बजेतिर विमानस्थलको धावनमार्गमा चिप्लिएको थियो ।


ADVERTISEMENT


बन्द भएको विमानस्थल भर्खरै सूचारु भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । नेपाली सेना, प्रहरी, कर्मचारीले चिप्लिएर धावनमार्गमा पुगेको जहाजलाई तानेर पार्किङमा लगेका थिए । रातिदेखि नै प्रयास जारी राखेको भए पनि बिहान मात्रै घाँसे मैदानबाट रन वेमा निकालिएको थियो ।


ADVERTISEMENT

# # #


तिवारीका अनुसार घाँसे मैदानमा हिलोमा धसिएको जहाजलाई रन वेमा निकालेर पार्किङमा लगिएको छ । रातिदेखि निकाल्ने प्रयास भए पनि पानी परेका कारण घाँसे मैदानबाट जहाज अहिले भर्खर निकालिएको छ । त्यसपछि उडान र अवतरण सुचारु भएको छ । जहाजको अगाडिको पाङ्ग्रा (ल्यान्डिङ गेयर) भाँचिएको कारणले बाहिर निकाल्न केही समस्या परेको थियो ।

नेपालगञ्जबाट काठमाडौं आइपुगेको यतीको जेट स्ट्रिम विमान अवतरणपछि करिब ९ सय मिटर अघि बढिसकेपछि धावनमार्गमै चिप्लिएको थियो । २१ जना यात्रु बोकेर आएको जहाज धावनमार्गबाट चिप्लिएर १० मिटर पर घाँसे मैदानमा पुगेको थियो । पहिले ४५ मिनेटका लागि विमानस्थल बन्द गरिएको भए पनि पछि समय थप गरिएको थियो । विमानस्थल अवरुद्ध भएपछि विदेशबाट आएका विमान फर्काइएको थियो ।

तिवारीका अनुसार हिजो बेलुका आएका विमान सबै भारत डाइभर्ट गरिएको छ भने नेपालबाट हुने कुनै पनि उडान हुन सकेको थिएन ।