काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई शुक्रबार अपरान्ह दाङ ल्याइएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी कृण्णहरी शर्माले साढे चारबजेतिर भोजपुर प्रहरीले प्रकाण्डलाई भालुवाङ प्रहरीको जिम्मा लगाएको जानकारी दिए । प्रकाण्डलाई घोराहीस्थित जिल्ला प्रहरी कार्यालय ल्याउँदासम्म बेलुका साढे पाँच बज्ने एसपी शर्माले बताए ।


ADVERTISEMENT


बिहीवार नै भोजपुरबाट प्रकाण्डलाई दाङको लागि हिँडाए पनि शुक्रबार बेलुका मात्रै भोजपुर प्रहरीले प्रकाण्डलाई दाङ प्रहरीलाई हस्तान्तरण गरेको हो । यसैबीच प्रकाण्डलाई आइतबार मात्रै दाङ देउखुरी जिल्ला अदालतमा पेश गरिने भएको छ । शुक्रबार अफिस समयभन्दा ढिला गरि जिल्लामा आइपुगेको र शनिबार विदा हुँदा आइतबार मात्रै प्रकाण्डलाई अदालतमा पेश गरिने एसपी शर्माले जानकारी दिए । यो अवधिमा प्रकाण्डलाई जिल्ला प्रहरी कार्यालय दाङको थुनुवा कक्षमै राखिने एसपी शर्माले बताए ।


ADVERTISEMENT

# # #


प्रकाण्डलाई गत मंसिर १२ गते तुलसीपुरमा नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरि गराइएको बम विस्फोट र त्यसमा मारिएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का २३ बर्षीय विनोद चौधरीको हत्याको मुद्दामा दोषि ठहर्‍याइ दाङ ल्याइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

तत्कालिन प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले तुलसीपुरको अरनिको मैदानमा सम्बोधन गर्दै गर्दा त्यसको एक सय मिटर दक्षिणको सडकमा सुरक्षार्थ खटिएका म्यादी प्रहरी चौधरी अज्ञात समूहको बम प्रहारबाट गम्भीर घाइते भएका थिए ।

चौधरीको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मंसिर १३ गते मृत्यु भएको थियो । उक्त बम आक्रमणमा परि थप नौ जना सर्वसाधारण घाइते भएका थिए ।

प्रकाण्डको डायरीमा कांग्रेसको सभा विथोल्ने तथा बम प्रहार गर्ने जस्ता शब्दहरु फेला परेको हुँदा तुलसीपुरमा भएको बम प्रहार र म्यादी प्रहरीको हत्याको अभियोग उनीमाथि लागेको हुँदा दाङ ल्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रकाण्ड काठमाडौंबाट साउन २२ गते पक्राउ परेका थिए ।

उनलाई यसअघि झन्डै आधा दर्जन पटक विभिन्न अदालतले रिहा गर्न आदेश दिएको भए पनि अदालतको गेटबाटै प्रहरीले पक्राउ गर्दै आएको छ ।

राजनीतिक पूर्वाग्रह राखेर देशैभर डुलाउनु अन्याय
यसैबीच राजनीतिक आग्रहका राखेर प्रकाण्डलाई देशभर डुलाइएको भन्दै उक्त पार्टीका एक जना नेताले आक्रोश व्यक्त गरेका छन् ।

स्रोतसँग कुरा गर्दै ती नेताले गृहमन्त्री रामबहादुर थापाको ठाडो आदेशमा प्रहरीले प्रकाण्डलाई विना कारण गिरफ्तार गरि देशका विभिन्न ठाउँमा गैर न्यायिक रुपमा हडकडी लगाएर डुलाइ रहेको भन्दै त्यसको विरोध गरे। ‘अदालतले पटकरपटक निर्दोष सावित गर्दा पनि गृह मन्त्रालयको ठाडो आदेशमा राजनीतिक पूर्वाग्रह राखेर प्रकाण्डलाई देशैभरी गैरन्यायिक रुपमा डुलाइरहेको छ,‘ उनले भने, ‘यसबाट कानुनी राज्यको उपहास भएको छ । लोकतन्त्रको मजाग उडाइएको छ। यो भन्दा अन्याय अरु के हुन्छ।’

उनले म्यादी प्रहरीको मृत्युको आरोप सम्वन्धी मुद्दा झुठो भएको बताए। कर वृद्धि, तस्करी, महङगी, कालोबजारी, कमिसनखोरी, भ्रष्टाचारीहरुको संरक्षण सरकारले गरिरहेको कार्यप्रति नेपाल कम्युनिष्ट पार्टीले विरोध गरिरहेकाले आफ्ना प्रवक्तालाई दुःख दिने षडयन्त्र सरकारले गरेको ती नेताले भने।