मुलूक स्थानीय तह दोस्रो चरणको निर्वाचनको संघारमा छ । कतीपय ठाउँमा निर्वाचनका लागि दलहरुले उम्मेद्वारको घोषणा गरिसकेका छन् । एकातिर प्रमुख पार्टीले निर्वाचनको तयारी गरिरहेका छन् भने अर्कातिर आफ्ना माग पूरा नगरेको भन्दै चुनाव बिथोल्ने गरी राजपाले आन्दोलनका कार्यक्रम घोषण गरेको छ । नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालले दोस्रो चरणको निर्वाचनमा पार्टीलाई कसरी सघाउँदैछ ? सरकारसँग युवासंघका के कस्ता मागहरु छन् ? निर्वाचनका लागि एमालेले युवालाई कसरी खटाउँदै छ ? लगायतका विषयमा युवासंघ नेपालका उपाध्यक्ष चन्द्र लामासँग हिमालयपोष्टले गरेको कुराकानी


ADVERTISEMENT


तपाईहरुले भर्खरै मिटिङ गरेर एउटा नयाँ कार्यक्रम ल्याउनु भएको छ । त्यसका बारेमा बताइदिनुस् न ।


ADVERTISEMENT

# # #


स्थानीय तह पहिलो चरणको निर्वाचनमा नेकपा एमालेको पक्षमा जुन किसिमको परिणाम आयो, पार्टी त्यसमा पूर्ण सन्तुष्ट छैन । पहिलो चरणको चुनावमा एमाले सिट सङ्ख्याको आधारमा ठूलो पार्टीे भएको छ । हाम्रो पार्टीको नीति, सिद्धान्त, विचार अनुसार र अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा जनताका माझमा राष्ट्रकानिम्ति जस्ता खालका अडानहरु/कामहरु भएका थिए, ती कामको आधारमा हामी निर्वाचनमा सर्वोत्कृष्ट अथवा भारी अन्तरका साथ ठूलो पार्टीको रुपमा आउँछौँ भन्ने सोचेका थियौँ त्यो अनुसार आउन सकेन । यही कुरालाई मध्यनजर गर्दै दोस्रो चरणको निर्वाचनका निम्ति काम्रेड केपी आलीलाई प्रमुख अतिथी बनाएर युवा संघका अध्यक्ष राजीव पहाडीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी केन्द्रबाट गठन गरिएको छ ।

निर्वाचन भएसकेका जिल्लाका पदाधिकारीहरुलाई अन्य ठाउँहरुमा खटाउने निर्णय गरिएको छ । भेरी अञ्चलमा म आफैलाई खटाइएको छ र अन्य साथीहरुलाई पनि त्यही अनुरुप खटाइएको छ । यो खटाउनुको उद्देश्य एमालेका नीति, सिद्धान्त, विचारहरु, भावी योजनाहरु र विगतमा राष्ट्रका पक्षमा लिएका अडानहरुको बारेमा आमजनतालाई बुझाएर एमालेको पक्षमा मतदान गराउनु हो । र निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि युवाहरुलाई खटाइएको हो ।

पार्टीको पक्षमा मतदान गराउनका लागि तपाईलाई भेरीमा खटाइएको छ । अन्य युवाहरुलाई अरु ठाउँमा खटाएको छ । यो कमिटी कसरी अगाडी बढ्छ ? यती काम त तपाईको पार्टीका स्थानीय युवाले पनि गर्न सक्थे होलान् केन्द्रबाटै किन खटाउनु पर्यो ?
मुख्य कुरा हिजो २०५४ सालको स्थानीय चुनाव र यसपालीको निर्वाचन एकदमै फरक छन् । अहिलेको स्थानीय तहका अधिकार, कार्यक्षेत्र बढेका छन् । त्यसैले आम जनतामा के कुरा बुझाउन जरुरी छ भने अहिलेको स्थानीय सरकारले पहिले केन्द्रमा गर्नुपर्ने थुप्रै कामहरु, अधिकार पाएको छ । त्यसैले अबको स्थानीय तहको निर्वाचनमा जित्ने प्रतिनिधि भनेको त्यहाँको सरकार हो । ती अधिकारको सदुपयोग गर्नका लागि समाजको विकास गर्न सक्ने योग्य उम्मेद्वारलाई मतदान गर्नका लागि जनतालाई सचेत गराउनका लागि यस कमिटीले सघाउने छ ।  संगसंगै ‘युवाको आह्वान सूर्यमा मतदान’ अन्तर्गत एमालेका उम्मेद्वारलाई सघाउने काम यसले गर्छ । यसका लागि स्थानीय भन्दा केही कुरा बुझेका केन्द्रका युवाहरुलाई पठाइएको हो ।

असार १४ मा दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नका लागि पनि सरकारसामू थुप्रै चुनौतिहरु रहेका छन् । चुनावको वातावरण बनाउन तथा तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नका लागि सरकारलाई के भन्नुहुन्छ ?
सरकारले पटकपटक चुनावको मिति सारिरहेको छ । बैशाख ३१ बाट जेठ ३१मा सारियो । त्यसपछि असार ७ अनि अहिले असार १४ मा गर्ने भनिएको छ । हाम्रो माग यही हो कि अब चुनाव नसारियोस् । अर्को कुरा पहिलो चरणको निर्वाचनमा सरकारले विभिन्न किसिमका हर्कतहरु जस्तोः भरतपुर, दोलखा लगायतका ठाउँमा भएका कार्यहरु सरकारले दोहोर्याउनु हुँदैन । सरकार सबैको हो । मतपत्र च्यात्नेको संरक्षण गर्ने, धाँधली गर्नेको संरक्षण गर्ने काम सरकारबाट बन्द हुनुपर्छ । यदि सरकारले सत्ताको आडमा धँधली गरेर चुनाव जित्छु भन्ने मानसिकता पाल्छ भने नेपाल युवासंघलाई त्यो मान्य हुने छैन । त्यस्तो कार्य गर्न खोजेमा हामी चुप लागेर बस्दैनौँ ।

पहिलो चरणको निर्वाचनमा भरतपुरमा जस्तो कार्य भयो त्यस्ता कार्य अब हुँदैनन् अथवा दोस्रो चरणको निर्वाचन स्वतन्त्र, धाँधलीरहित हुन्छ भन्नेमा तपाई कत्तिको विश्वस्त हुनुहुन्छ ?

अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । उहाँको विगतको कार्यशैलीप्रति नेपाली कांग्रेसपनि सन्तुष्ट छैन भने हामी हामी विश्वस्त हुने कुरा भएन । यद्दपी सरकारलाई नमान्ने भन्ने कुरा हुँदैन । हामी सरकारलाई अनुरोध गर्न चाहान्छौँ, आह्वान गर्न चाहान्छौँ कि विधीको शासन अनुरुप प्रत्येक कुरामा विधी पर्याएर अगाडी बढ्नुस् । प्रजातन्त्र भनेको कांग्रेस र कांग्रेस भनेको प्रजातन्त्र भनेर उहाँले जुन रुपमा वकालत गरिरहनु भएको छ । त्यसको विपरितमा गएर निर्वाचनमा धाँधली गर्न खोजेमा उहाँले भनेको प्रजातन्त्रको धज्जी आर्फै उडाउनु हुनेछ । यदी निर्वाचन भयरहित, स्वतन्त्र तथा निष्पक्ष सम्पन्न गर्नतिर उहाँहरु लाग्नु भएन भने नेकपा एमाले तथा नेपाल युवा संघ चुप लागेर बस्दैन । मैले माथि नै भने यो सरकार सबैको हुने आभाष उहाँले दिलाउनु सक्नुपर्छ ।

मधेसमा तपाईको चुनावी अभियान कसरी अगाडी बढ्छ ? त्यहाँका मतदाताहरुलाई एमालेका पक्षमा मतदान गराउन कसरी विश्स्त पार्नुहुन्छ ?

विगतदेखि पार्टीले अंगीकार गरेको विचार सिद्धान्त अनुसार नै हामी कुनै जातको आधारमा राज्य विभाजन गर्नुहुँदैन भन्ने मान्यता राख्छौँ । तल्लो वर्गलाई उठान गर्नेगरी, पूँजीपतिले श्रमिकको सम्मान गराउनका लागि, बालबालिका, युवा, बृद्धवृद्धा, असहाय, अपाङ्ग पक्षमा आवाज उठाउने पार्टी नेकपा एमाले हो । अबको निर्वाचनमा तराईमा एमाले कमजोर हुन्छ भन्ने भ्रम फैलाईएको छ, त्यो गलत हो । किनभने तराईमा जमिनदारभन्दा गरिब तथा जातको आधारमा समाजमा तल्लो वर्गमा राखिएको जनताको बसोबास बढी छ । तिनीहरु सबैले एमालेका पक्षमा मतदान गर्छन ।

अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा तराईको विकास निर्माणमा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै बजेट गएको छ । त्यसको कार्यान्वयन गर्नका लागि पनि एमालेलाई मतदान गर्न आवश्यक छ । यसले गर्दा तराईका जनता एमालेप्रति सकारात्मक छन् ।

जसरी पहिलो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी बन्यो, मधेसमा पनि त्यसरी नै एमाले पहिलो पार्टी बन्छ भन्ने तपाईका भनाइ हो ? यसका लागि आवश्यक रणनीतिहरु के छन् ?

एकदमै, हामी तराई मधेसमा कांग्रेस–माओवादीभन्दा १ सिट बढी ल्याएर भएपनि पहिलो बन्छौँ । विशेषगरी २ नम्बर प्रर्देशमा अन्य पार्टीभन्दा नेकपा एमाले पहिलो हुने कुरा म दावाका साथ भन्न चाहान्छु । र रणनीतिको कुरा गर्नु पर्दा एमाले विगतदेखि नै विकासवादी पार्टी हो । हामीले नै सुरु गरेको वृद्धभत्ता अहिले २ हजार पगेको छ ।

युवाहरुले शैक्षिक प्रमाणपत्रका आधारमा व्यावसाय सञ्चालनका लागि ऋण उपलब्ध गराउन बाटो खुलाउने पार्टी एमाले हो ।  एमालेले गरेका विगतका विभिन्न सकारात्मक कार्यले हामीलाई सहयोग पुर्याउँछ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितका लागि एमाले पछाडी पर्दैन भन्ने कुरा आम जनतालाई थाहा छ । त्यसैले एमालेका पक्षमा भारी जनमत प्राप्त हुन्छ भन्नेमा म विश्वस्त छु ।

आफ्ना माग पूरा नगरेको भन्दै राजपाले चुनाव विथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । संविधान संशोधन गर्नका लागि एमालेले अवरोध गरिरहेको छ । देशलाई निकास दिनका लागि अथवा दोस्रो चरणको निर्वाचन सम्पन्न गरेर संविधानलाई कार्यान्वयनतिर लैजानका लागि युवा संघको उपाध्यक्षको हैसियतले नेकपा एमालेको भूमिका कस्तो हुन्छ जस्तो लाग्छ ?
एउटा कुरा संविधान संशोधन एमालेको मुद्दा होइन । पहिले संविधान कार्यान्वयन गरौँ । यही चुनाव पनि कार्यान्वयनको विधी हो, प्रकृया हो । तर सरकार यो या त्यो बाहानामा निर्वाचन नगराउने, जनताको अभिमतलाई नस्वीकार्ने, पेलेर अगाडी बढ्ने स्थिती रहन्छ भने त्यो राम्रो हुँदैन ।  संविधान संशोधन भन्दापनि अहिले जनता चुनाव चाहिरेका छन् । सरकारले सबै किसिमका चुनाव गराउन सक्नु पर्छ । यदि गराउन सकिदैन भने तपाइहरु राजीनामा दिनुहोस्, एमाले चुनाव गरेर संविधान कार्यान्वयन गर्नेगरी आउँछ ।

अब राजपा चुनावमा नआउने कुरा छ त्यसमा मेरो कुरा के छ भने आफैले पार्टी चलाएको भए उहाँहरु चुनावमा आउनु हुन्थ्यो । जब पार्टी बाहिरबाट कसैले चलाएको छ भने उसले जे गर भन्यो त्यही मान्नु पर्यो । राजपा त्यही चपेटामा छ । यदि कसैले हलो अड्काएर गोरु चुट्ने काम गर्छ भने त्यसलाई जनताले जनमत मार्फत जवाफ दिने छन् । त्यसैले तराईका अन्य दल चुनावमा आउँछने भने उहाँहरु पनि आउनु पर्छ । एमाले सधै राष्ट्र र जनताको पक्षमा हुन्छ । जनताले माग गरेको खण्डमा संशोधन हुनेछ तर कुनै बाहिरी शक्तिको इशारामा चलेकाहरुको माग पूरा गर्न एमाले कदापी समर्थन गर्ने छैन र युवा संघले पनि त्यसका लागि पार्टीलाई समर्थन गर्नेछ । राष्ट्र, राष्ट्रियता र जनताको विरुद्धमा कुनै पनि सम्झौता हुन दिंदैन ।