काठमाडौँ– क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको छ ।


ADVERTISEMENT


आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आज यहाँ आयोजित कार्यक्रममा आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा चक्रराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार ग्राण्डी अस्पतालले पिपीएलका लागि आवश्यकपर्ने चिकित्सकसहित फिजियोथेरापिस्ट उपलब्ध गराउनेछ । त्यस्तै अस्पतालले पिपीएलका खेल सञ्चालन हुने मैदानमा स्वास्थ्यकर्मीसहित औषधि र अन्य उपकरण उपलब्ध गराउनेछ ।

उक्त अस्पतालका मेडिकल डाइरेक्टर डा पाण्डेले विगत लामो समयदेखि आफूहरूले घाइते खेलाडीको उपचार गर्दै आएको र पिपीएलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए भने आयोजक क्विन्सका प्रबन्ध निर्देशक लामाले क्रिकेट खेलाडीको उपचारमा ग्राण्डी अस्पतालले उल्लेखनीय सहयोग गरेको छ भने ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले ग्राण्डी अस्पतालले लामो समयदेखि राष्ट्रिय टोलीका खेलाडीको सफल उपचार गरी खेल मैदानमा फर्काउन सफल भएको बताए ।

उक्त प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौँ रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी छ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।