भैरहवा– स्थानीय तहको देस्रो चरणको निर्वाचनका लागि रुपन्देहीमा केही व्यक्तिले स्वतन्त्र उम्मेद्वारी दिन थालेका छन् । आइतबार बिहान ८ बजेदेखि सुरु भएको उम्मेद्वारी मनोनयनमा निर्वाचनको बहिष्कार गर्ने भन्दै आएको राष्ट्रिय जनता पार्टी राजपाका समर्थकले पनि स्वतन्त्र उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएका छन् ।


ADVERTISEMENT


रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा पर्ने समरीमाई गाउँपालिकाको सम्पूर्ण पदमा स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता भएको छ । ती उम्मेदवार राष्ट्रिय जनता पार्टी नेताका समर्थक मानिन्छन् । राष्ट्रिय जनता पार्टीका नेताले नै भित्री रुपमा उम्मेदवारी दिन लगाएको समाचार स्रोतले बताएको छ ।


ADVERTISEMENT

# # #


आइतबार बिहानै उक्त गाँउपालिकाको प्रमुख, उपप्रमुखलगायत ३७ वटै पदमा उक्त पार्टी समर्थक कार्यकर्ताले स्वतन्त्र उमेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत कमल पन्थीले स्वतन्त्र उमेदवार कुन पार्टी समर्थक हुन् ? भन्ने बारेमा आधिकारिक रुपमा जानकारी नभए पनि सबै पदमा स्वतन्त्र उम्मेदवारी परेको बताए । उक्त गाँउपालिकाको प्रमुखमा अशोक शुक्ला र उपप्रमुखमा कमाल उद्धिन शेखसहितको सबै पदमा स्वतन्त्र उमेदवारी परेको हो ।

राष्ट्रिय जनता पार्टीका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झालगायतका नेता शनिबारदेखि रुपन्देहीमा छन् । राष्ट्रिय जनता पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष ओम प्रकाश यादव गुल्जारीले स्वतन्त्र उम्मेदवारीको नाममा आफ्नो पार्टीको तर्फबाट मनोनयन नभएको दाबी गरे । आफ्नो पार्टीका कुनै कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दिएमा पार्टीले कारबाही गर्ने उनले बताए ।

रुपन्देहीमा १० गाँउपालिका, एक उपमहानगरपालिका र ५ नगरपालिका रहेका छन् ।