सुरुङ्गा, झापा– बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा एक महिलाको जटिल प्रकारको अर्बुद रोगको सफल उपचार भएको अस्पतालले जिकिर गरेको छ ।


ADVERTISEMENT


कनकाई नगरपालिका– ३ निवासी ३८ वर्षीया मनमाया श्रेष्ठको पित्तको नली, प्याङ्क्रियाज ग्रन्थी र ड्युडेनम नली जोडिने भागमा पलाएको मासुको सफल शल्यक्रिया भएको उपचारमा संलग्न चिकित्सक डा रोहित यादवले बताए । शल्यक्रिया गर्न आठ घन्टा लागेको बताइएको छ ।


ADVERTISEMENT

# # #


आठ घन्टा लामो शल्यक्रियापछि उनको सफल उपचार भएको बताइएको छ । श्रेष्ठको आठ दिनअघि सफल शल्यक्रिया भएको र अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको चिकित्सकले बताएका छन् ।

अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै उपचारमा संलग्न डा यादवले भने, “ग्यास्ट्रिकको समस्याले पेट दुखेको महसुस गरेर जँचाउन अस्पताल आएकी श्रेष्ठको पेटमा इन्डोस्कोपी गर्दा मासु पलाएको थाहा भयो । रोगको लक्षण अनुसार सिटी स्क्यान र एमआरआई गरी थप परीक्षण गर्दा क्यान्सर भएको पत्ता लाग्यो ।”,

चिकित्सकको सिङ्गो टोली र प्रविधिले सुसज्जित अपरेसन थिएटरको मद्दतमा बिएन्डसीमा पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरिएको पनि उनले बताए । पछिल्लो समयमा बिएन्डसीले उपचार सेवामा प्राप्त गरेको लोकप्रियता र सफलतापछि श्रेष्ठको जटिल प्रकृतिको सफल शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जिकिर गरे ।

उनले यही प्रकृतिको शल्यक्रिया गर्न भारतका ख्यातिप्राप्त अस्पतालले १५ लाख भारु लिने र नेपालमा पनि रु १२ लाखदेखि १५ लाख खर्च हुने गरे पनि आफूहरुले रु दुई लाखभन्दा कम शुल्कमा उहाँको उपचार गरिएको जानकारी दिए ।

विभिन्न औषधि उत्पादक कम्पनीसँग सहकार्य गरी शल्यक्रियामा आवश्यक सामग्री र औषधि निःशुल्क प्राप्त गरेकाले बिरामीको परिवारले ठूलो धनराशि खर्च गर्न नपरेको डा यादवले बताए । “श्रेष्ठ परिवार विपन्न वर्गको रहेको तथा श्रीमान् र छोरा वैदेशिक रोजगारीमा रहेकाले नेपालमा तत्काल उपचार खर्च जुटाउन असम्भव भएको पाएपछि हामीले बिरामीलाई बचाउनु नै डाक्टरको पहिलो कर्तव्य ठानेर उपचार गरेका हौंँ”, डा यादवले भने ।

अस्पतालका विशेषज्ञ सर्जन डा यादवसहित डा वासुदेव बास्कोटा, डा रवीनरत्न रञ्जितकार, एनेस्थेसियोलोजिस्ट प्रा डा सङ्गीता भट्टाचार्य, डा राजु श्रेष्ठ, डा निरु नेपाल, डा सुमोल थापालगायतको टोलीले उपचार गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए।