रोल्पा– रोल्पामा चारजना पत्रकार आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न दलबाट प्रतिस्पर्धा गर्ने गरी चुनावी मैदानमा उत्रिएका छन् ।


ADVERTISEMENT


पत्रकारिता छाडेर यसरी जनप्रतिनिधि हुने आकाङ्क्षा लिएका पत्रकारमा दुई महिला र दुई पुरुष रहेका छन् । यसरी प्रतिस्पर्धामा उत्रने पत्रकारमा प्रेस युनियन रोल्पाका अध्यक्षसमेत रहेकी जुनकिरी सञ्चार साप्ताहिककी प्रकाशक सम्पादक कविता उपाध्याय सुवर्णावती गाउँपालिकाको उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैछिन् ।


ADVERTISEMENT

# # #


सोही गाउँपालिकाको वडाध्यक्षमा नेकपा (एमाले)का तर्फवाट उमेदवारी दर्ता गराएका अर्का पत्रकार छन्, शशीराम कुँवर । लामो समय माओवादी आन्दोलनमा लागेका कुँवर केही दिनअघि नेकपा (एमाले) प्रवेशसँगै पत्रकारितासमेत छोडी वडाध्यक्षमा लड्ने लडेका हुन् । कुँवर लामो समय स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार थिए ।

जिल्लाको सुनछहरी गाउँपालिकाको वडाध्यक्षका प्रत्याशी रहेका अर्का पत्रकार हुन् अमरजित पुनमगर । सामुदायिक रेडियो जलजलाको स्थापनाकालदेखि नै कार्यरत पुनमगर नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा लड्ने लडेका हुन् । नेपाल पत्रकार महासङ्घको ५ नं प्रदेश सभासद्समेत रहेका पुनमगर न्यूज २४ टिभीको जिल्ला संवाददातासमेत थिए ।

यसैगरी, पत्रकारिता त्यागेर जनप्रतिनिधि हुन चुनावी मैदानमा उत्रिएकी अर्की पत्रकार हुन् तेजकुमारी विष्ट । स्थानीय सञ्चारमाध्यममा काम गर्ने विष्ट नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाको कोषाध्यक्षसमेत हुन् । विष्ट सुवर्णावती गाउँपालिकाको १ नं वडाबाट नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा प्रतिस्पर्धा गर्दैछिन् ।