पौराणिक तथा ऐतिहासिक हिसाबले चन्द्रागिरि पहिलेदेखि नै महत्वपूर्ण ठाउँका रुपमा लिइन्छ । यही ठाउँमा महादेवकी पत्नी सतीदेवीको भाल अर्थात निधार पतन भएर भालेश्वर महादेवको उत्पति भएको भन्ने भनाई प्रचलित छ । पृथ्वी नारायणशाहले पहिलो पटक काठमाडौँ उपत्यका नियालेको यो ठाउँमा साढे तीन अर्ब रुपैयाँ लगानीमा निर्माण भएको चन्द्रागिरी केबलकारसहित विभिन्न संरचना अहिले उपत्यकाबासीका लागि घुम्ने गन्तब्य बनेको छ । यसै विषयमा चन्द्रगिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकालसंग गरिएको कुराकानी


ADVERTISEMENT


चन्द्रागिरि हिल्सका बारेमा बताइदिनुस न ।
चन्द्रागिरि हिल्स आज भन्दा करिब ११ महिना अगाडि सञ्चालनमा ल्याएको केबलकारसहितको प्रोजेक्ट हो । एघार महिनाको छोटो अवधिमा करिब साढे पाँच लाख पर्यटकहरुले भ्रमण गरिसकेका छन् । वास्तवमा चन्द्रागिरि सञ्चालनमा आइसकेपछि चाहे त्यो ग्रामिण क्षेत्रमा बस्ने नेपाली होस् या विदेशमा बस्ने नेपाली । उहाँहरुमा काठमाडौँ पुगेपछि एकपटक चन्द्रागिरि जानुपर्छ भन्ने किसिमको सोच पलाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै टुर अपरेटर, ट्राभल एजेन्सी तथा पर्यटक गाइडहरु लगायतका अन्य पर्यटनसंग सम्बद्ध संस्थाहरुले नेपालमा आउने विदेशी पर्यटकलाई नेपालमा घुमाउने कार्यक्रम अन्तर्गत चन्द्रागिरि पनि एउटा प्रमुख गन्तव्य बनेको छ । त्यस हिसाबले यो स्वदेशी तथा विदेशी दुबै किसिमका पर्यटकका लागि एउटा राम्रो गन्तव्य बनेको छ । यसको सञ्चालन पश्चात देशका विभिन्न ठाउँहरुमा यस्ता किसिमका पर्यटकीय स्थल बनाउनु पर्छ भन्नेमा सन्देश दिएको छ । समग्रमा चन्द्रागिरी हिल्सले देशको पर्यटन पर्वद्धन गर्नमा भूमिका खेलेको छ ।

पर्यटकका लागि चन्द्रागिरि किन आकर्षक गन्तव्य बनिरहेको छ ? तपाईसंग के कस्ता सुविधाहरु छन् जसको कारण पर्यटक यहाँ आउन् ?

प्रमुख कुरा काठमाडौँबाट चन्द्रागिरि एकदमै नजिक करिब १५ किमी टाढा रहेको छ । यो काठमाडौ उपत्यकाको दोस्रो अग्लो ठाउँ हो, जुन समद्र सतहदेखि २ हजार ५ सय ५१ मिटर अर्थात झण्डै ८ हजार फिटको उचाईमा रहेको छ । यहाँबाट अन्नपूर्ण देखि सगरमाथासम्मका हिम श्रृखलाहरु १८० डिग्रीको कोणमा दृश्यावलोकन गर्न सकिन्छ ।

साथै काठमाडौँ उपत्यकाको चारैतिरको दृश्य हेर्न सकिन्छ । अर्को एतिहासिक तथा पौराणिक महत्वका कुराको अवलोकनका लागि यहाँ आउनुपर्छ । र काठमाडौँमा प्रदुषणको सिकार भएका मानिसहरु पूर्णतः प्रदुषणरहित वातावरणमा रमाउन यहाँ आउने गर्छन । समग्रमा अहिले चन्द्रागिरी उत्कृष्ट पर्यटकीय गन्तव्य हो ।

यो परियोजना सञ्चालनमा ल्याइसकेपछि के कस्ता प्रतिक्रियाहरु पाउनु भएको छ ?

मैले माथि नै भने, कि म काठमाडौँ बाहिर जाँदा सर्वसाधरणलाई चन्द्रागिरिको बारेमा सोध्ने गरेको छु । कतिपय मानिसहरु हामीले चन्द्रागिरिको बारेमा सुनेका छौँ, काठमाडौँ जाँदा त्यहाँ अनिवार्य जान्छौँ भन्ने भेटेको छु । त्यस्तै कतिले हामी गइसकेको छौँ भन्ने जवाफ पाएको छु । विदेशमा जाँदा त्यहाँ रहेका नेपालीहरु काठमाडौँ गएपछि चन्द्रागिरि जाने कुरा गर्ने गर्छन् । त्यस्तै विदेशी पर्यटकको घुम्ने कार्यक्रममध्येको चन्द्रागिरि पनि परेको छ । त्यसैले वास्तवमा नेपालको पर्यटन विकासका लागि चन्द्रागिरि हिल्सले महत्वपूर्ण योगदान दिनेछ भन्ने हामीले विश्वास लिएको छौँ ।

पर्यटकको सङ्ख्या अझ बढाउनका लागि के कस्ता भौतिक पूर्वाधारहरु निर्माण गर्दैहुनुहुन्छ ? आगामी योजनाहरु के के छन् ?

पूर्वाधारको कुरा गर्नु पर्दा अब एक सय कोठा भएको पाँच तारेस्तरको रिसोर्ट बन्दै छ । जहाँ सार्क, विम्सटेकजस्ता अन्तराष्ट्रिय स्तरका कार्यक्रमको आयोजना गर्न सकिने सुविधा सहितको रिर्सोट बन्दैछ । जुन रिसोर्ट आउँदो जनावरीका सञ्चालमा आउँदै छ ।

अर्को जिप फ्लायर प्याराग्लाइडिङ लगायतका पर्यटकीय गतिविधिहरु सञ्चालन हुँदै छन् । अलिहलि हामीले यस अघिपनि निर्माण गरिसकेका छौँ । तिनको सञ्चालन भइसकेको छ । त्यसकारण अबको एक/दुई वर्षमा यहाँको सबै पूर्वाधारहरु तयार भएपछि नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नेछ भन्ने हाम्रो विश्वास छ ।

यस्ता किसिमका परियोजना निर्माणका लागि सरकारको तर्फबाट के कस्तो सहयोग आवश्यक रहन्छ ?
वास्तवमा सरकारले यस्ता किसिमका प्रोजेक्टहरुलाई पूर्वाधारका कुराहरु जस्तोः सडक, विजुली तथा पानीको व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ । हामीले यहाँका सबै संरचनाहरु पानी बोकेर बनाएको हो । त्यसैले यी आवश्यक कुराहरु सरकारले उपलब्ध गराई दिनपर्छ ।

र अर्को कुरा अन्य प्रक्रियागत कुराहरु जस्तोः विभिन्न एजेन्सीहरुबाट स्वकृती लिने प्रक्रियाहरु लामो समय लाग्ने भएकोले यस्ता कुरालाई सजिलो बनाएर समय बचत गर्नसकेमा तोकिएको समयमा नै परियोजना निर्माण गर्न सकिन्छ । त्यसैले यस्तो किसिमको परियोजनाले देशमा रोजगारीको सिर्जना गर्ने कुरामा, मुलूकको अर्थतन्त्रमा सघाउ पुर्याउँछ ।