हिन्दु राज्य र राजसंस्था फर्काउने अभियानमा लागेको विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकी महासचिव अस्मिता भण्डारीसंग हिमालयपोष्टले विविध विषयमा गरेको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


विश्वहिन्दु महासंघले आफ्ना कार्यक्रमहरु कसरी अगाडी बढाइराखेको छ ?


ADVERTISEMENT

# # #


विश्व हिन्दु महासंघ के हो र यसले के काम गर्छ भन्ने विषयमा हामीले यस अघि नै चर्चा गरिसकेका छौँ । अहिलेको अवस्थाको कुरा गर्नुपर्दा संसारभरि छरिएर रहेका ओमकार परिवारहरु विश्वहिन्दु महासंघमा आवद्ध हुनुहुन्छ । त्यो हिसाबले हेर्दा विश्वहिन्दु महासंघको कार्यक्रम भव्य ढंगले हुनुपर्ने तर दुःखका साथ भन्नुपर्छ की जुन काम गर्ने वातावरण हुनुपर्थ्यो, त्यो छैन । तैपनि हामी जिल्ला जिल्लामा समितिहरु निर्माण गर्ने,  नयाँ कार्यक्रम विकास गर्ने अभियानमा छौँ ।

त्यो भेनेको के ?

हिन्दुसम्बन्धि कुनै काम गर्न खोज्यो भने पहिलो बाधक सरकार नै हुन्छ । हिजो हिन्दुको गुणगान गाउँदै हिंड्नेहरु आज धर्मनिरपेक्षताको आवाज उठाइरहेका छन् । विश्वहिन्दु महासंघ राजाले जन्माएकाले राजावादी संस्था हो भन्ने आक्षेप लगाइने गरेको छ । हाम्रो संस्था चलाउनका लागि वर्षेनी नेपाल सरकारले १० लाख रुपैयाँ दिन्थ्यो । बाबुराम भट्टराई प्रधानमन्त्री भएदेखि त्यो सुविधा पनि काटियो । त्यस्तै पशुपति विकास कोषको पदाधिकारी विश्वहिन्दु महासंघको सिफरिसमा हुने व्यवस्था थियो । यस्ता विविध कुराहरु सरकारले कटौती गरेको छ । यसरी हामीलाई कमजोर बनाएर काम गर्न नदिन नेपाल सरकार लागिरहेको छ ।

तपाईहरु लामो समयदेखि हिन्दु राज्यको माग गर्दै आउनु भएको छ । तर, एशिया प्यासिफिक नाम दिइएको कार्यक्रम काठमाडौँमा भईसकेको छ । धर्म विशेषको प्रचारका लागि भन्ने आरोप लागेको यो कार्यक्रममा प्रधानमन्त्रीसहितका उच्च पदस्थ सहभागी भए । यसलाई कसरी हेर्नुहुन्छ ?

मलाई प्राप्त सूचना अनुसार एशिया प्यासिफिकमा २६ वटा देशका मानिसहरुलाई यहाँ बोलाइएको थियो । कोही राष्ट्रप्रमुख, कोही सरकार प्रमुखहरु थिए । त्यसमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि एउटा विधाको अध्यक्ष थिए । एउटा चर्चको नेपाल शाखाको कार्यक्रममा नेपाल सरकार नै सहआयोजक भयो । यसले नेपाल सरकारको चरित्र र उद्देश्यमाथि प्रश्नचिन्ह खडा भएको छ । धर्मान्तरण गर्नेलाई दण्डित गर्ने भनेर तल – तलका केही व्यक्तिलाई कारबाही गरेजस्तो गर्ने तर माथि आफै त्यसको आयोजक हुने ? यो एकदमै खेदजनक छ ।

अनि तपाईहरुको हिन्दु राज्य बनाउने अभियान कसरी सफल हुन्छ ?

अयोग्यहरु अहिले सत्तामा गएर योग्यहरुलाई शासन गरिरहेका छन् । जब यो देशमा राजसंस्था थियो, हाम्रो राष्ट्रिय स्वाधिनता मजबुद थियो । विदेशीले यती सजिलै खेल्न सक्दैनथे । तर अहिले हामीबीच जातीय द्वन्द्व गराएर राष्ट्रिय एकता भत्काउने प्रयास गरिँदैछ । केही नेताहरुले आफ्नो निहित स्वार्थका लागि त्यसमा साथ दिँदैछन् ।

उसोभए, तपाईहरुको मुद्दाको अन्तिम लक्ष्य हिन्दु राज्यलाई टेकेर राजसंस्था फर्काउने हो ?

हाम्रो मुद्दा राष्ट्रिय स्वाधिनताको हो । राष्ट्रिय एकताको मुद्दा हो । त्यो भनेको हिन्दु राज्यको मुद्दा हो । राजा बोक्नै पर्दैन, हिन्दु राज्यले राजा आफै बोकेको छ । किनभन्दा वेद, पुराण र उपनिषद्ले नै राजा हिन्दु धर्मको संरक्षक हुनुपर्छ भनेर निर्देशित गरेको छ । वेद पुराण र उपनिषद् भनेका हाम्रा सर्वोच्च ग्रन्थहरु हुन् । यी हिन्दुहरुको अलिखित निर्देशिका हुन् र जीवनशैली पनि । त्यसकारण हिन्दु धर्मले नै राजसंस्था बोकेको छ, हामीले होइन ।

भनेपछि यो देशमा राजसंस्था र हिन्दुराज्य कायम गराएरै छाड्नुहुन्छ ?

त्यसको बिकल्प नै छैन । नत्र त देशै रहँदैन । विभिन्न बाहानामा राज्यको ढुकुटी रित्याइँदैछ । एउटा राजा हटाएर यहाँ अहिले सयौँ राजाहरु भए । जुन कुरा पछिल्लो समयमा उनीहरुको जीवनशैली र मागअनुसारले नै प्रमाणित गर्छ । आज एउटा बालिकाको लागि न्याय माग्दा प्रहरीले उल्टै धरकपट गरिरहेको छ । दिनका दिन भ्रष्टाचार बढेको बढ्यै छ । देशमा यति धेरै अशिक्षा छ, यति धेरै बेरोजगारी छ कि आजका युवाहरु दिनदिनै खाडीमा गइरहेका छन् । सुत्केरी हुन नपाएर महिला मरिरहेका छन् । आजको युवाहरुमा देशको लागि गर्ने भन्ने मानसिकता छैन । पढेर विदेश जाने कुरा गर्छन् । न यो देशमा शान्ति सुरक्षा छ न त रोजगारी नै, अनि यो देशमा किन बस्छन् ?

राजसंस्था फर्केको भोलिपल्टै नेपाल ‘स्वर्ग’ हुन्छ भन्ने तपाईको ग्यारेन्टी के छ ?

हामीले त्यस्तो भनेका होइनौँ । नेतृत्वले जनतामा एकता ल्याउने हो । हिजो हामीमा भाइचाराको सम्बन्ध थियो । तर आज तिनै एकआपसमा टाउको फुटाउँदैछन् । एक भए न विकास हुन्छ ! अहिलेका नेताले जनतालाई एकताको शूत्रमा बाँध्न सकेनन् भन्ने हो । कसैलाई काखा र कसैलाई पाखा गर्न भएन । त्यो भयो भने विकास हुन्छ । तर यहाँ त तपाईले देख्नु नै भएको छ कि के भईरहेको छ भनेर ! त्यस कारण यो देशमा माटो सुहाउँदो राजसंस्थाको विकल्प छैन !!