काठमाडौं । विवादास्पद अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिभर्सल पिस फाउण्डेसनले आयोजना गरेको दुईदिने एशिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टी नेतृत्वको प्रत्यक्ष सहभागितालाई लिएर नेकपाभित्रै तीव्र असन्तुष्टि प्रकट भएको छ । यस्तै, प्रधानमन्त्रीले एक लाख डलरको पुरस्कार लिनुलाई पनि ‘गलत’ भनिएको छ ।


ADVERTISEMENT


जनदबाबपछि सरकार सम्मेलनको सह–आयोजकबाट बाहिरिएको भनिए पनि प्रधानमन्त्री, मन्त्री, अध्यक्ष र बरिष्ठ नेताको सहभागितालाई लिएर नेकपामा बिबाद बढेको हो । प्रधानमन्त्री ओली दुवै दिन सम्मेलनमा सहभागि थिए भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो दिनको एक सत्रका वत्ता थिए ।


ADVERTISEMENT

# # #


बरिष्ठ नेता माधवकुमार नेपालले सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता गर्दा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक सत्रमा नेपालको शान्ति प्रक्रियाबारे जानकारी गराएका थिए । नेकपाबाट निर्वाचित जनप्रतिनिधिलाई ‘ब्लेसिङ’मा सहभागि हुन बाध्य पारिएको मात्रै होइन सम्मेलनकै सफलतामा नेकपा र उ नेतृत्वको सरकारले अनावश्यक बल गरेको भन्दै नेकपाका केही नेताले सार्वजनिक असन्तुष्टि व्यक्त गरेका हुन् । भीम रावल र घनश्याम भुषाल यो मामिलामा अगाडि छन् ।

इतिहासमै ठूलो कम्युनिष्ट पार्टी नेपालमा बनेको र देशका थुप्रै काम गर्नुपर्ने अवस्थामा सरकार र पार्टी गलत काममा लाग्दा जनस्तरमा नकारात्मक सन्देश गएको उनीहरुको दावी छ ।

यस्तै, विवादास्पद संस्थाको तर्फबाट नेपालका प्रधानमन्त्रीलाई दिएको १ लाख डलर नगदको नेतृत्व र सुशासन नामको पुरस्कार पनि विवादमा परेको छ । कतिपयले फिजीमा गर्न नदिइएको सम्मेलन काठमाडौंमा सफल बनाइदिए बापत प्रधानमन्त्रीलाई पुरस्कृत गरिएको टिप्पणीसमेत गरेका छन् । विदेशी निकायबाट कुनै अनुदान, ऋण वा अन्य सहयोग वा पुरस्कार लिन सरकारको स्वीकृति अनिवार्य रहेपनि प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पनि छलेर विवादास्पद संस्थाको पुरस्कार ग्रहण गरेको केहीको टिप्प्णी छ ।

विवाद केही मत्थर गर्न हुन सक्छ प्रधानमन्त्रीले पुरस्कार राशी सरकारलाई हस्तान्तरण गरी यूवा र बालबालिकाका लागि खर्च गर्ने घोषणा गरेका छन् । नेकपाका केही नेताले प्रधानमन्त्री ओली र पार्टी नेतृत्वको गतिविधिमा सांस्कृतिक अधपतन र नग्नता सुरु भएको भन्दै कडा टिप्पणी गरिरहेका छन् । नेकपाको पूर्व माओवादी समूह भने यो बहसमा ओर्लिसकेको छैन ।