काठमाडौं । आउँदो पुष १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु पर्खेर बस्न नपाउने गरी काठमाडौं महानगरपालिकाले ‘पिक एण्ड ड्रप’ कार्यक्रम तयारी थालेको छ।


ADVERTISEMENT


एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकोले यस प्रकारको समस्यामा न्युनीकरण गर्न ‘पिक एण्ड ड्रप’ कार्यक्रम थालिएको हो।


ADVERTISEMENT

# # #


मंगलबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको सरोकारवाला कार्यालयका अधिकारीसँगको बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘सडकमा यात्रु पर्खेर रोक्ने एउटा सवारी साधनले धेरै मानिसको समय बर्बाद गरेको छ। सवारी जामले मानिसको उत्पादनशीलता घटाएको छ। लामो समय इन्धन जलेकोले वातावरणीय ह्रास पैदा गरेको छ। यसले गर्दा जति सडक चौडा बनाए पनि समस्या जहाँको त्यहीँ रह्यो।’ मेयर शाक्यले थप्दै भने, ‘अब यातायात व्यवसायीसँगै सरकारी सरोकारवाला कार्यालयको सहकार्यमा ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागू गर्छौं।’

बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले यातायात व्यवसायीसँग पनि छलफललाई तीब्र बनाउन आग्रह गरे।

बैठकमा महानगरका सहसचिव डा. टोकराज पाण्डेले नमूनाका रुपमा निश्चित ठाउँमा ‘पिक एण्ड ड्रप’ लागू गर्ने र यसको प्रभाव विश्लेषण गरेर विस्तार गरिने बताए। यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले यस अघि विभिन्न समितिले दिएको रुट स्वीकृतको पूर्ण विवरण विभागमा नभएकाले समस्या भएको उल्लेख गर्दै पौष १ गतेदेखि कार्यान्वयन तयारीमा रहेका काठमाडौंका ६६ वटा रुटको प्रभावकारी सञ्चालनमा पनि साझेदारिता हुनु पर्नेमा जोड दिए।

अधिकारीहरुले सवारी जामको समस्या केलाउँदै रुट पहिचान र साना सवारी साधनलाई ठूला साधनमा रुपान्तरण गर्नु यसको दीर्घकालीन समाधान हो भन्ने निष्कर्ष निकालेका छन्। यसको थालनी ‘पिक एण्ड ड्रप’ कार्यक्रम हो भन्नेमा सबैको मत एउटै थियो।

यसप्रकारका समस्या समाधान गर्न उपयुक्त विधि निकाल्न बैठकले ५ सदस्यीय समिति समेत गठन गरेको छ। महानगरको शुशासन विभागका प्रमुख हरिबहादुर कुँवरको संयोजकत्वमा गठित समितिको सदस्यमा सडक डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजन इञ्जिनियर रामबहादुर गुरुङ्, साना ठूला सवारी एकान्तकुनाका उपसचिव बसन्त पन्थी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक कृष्णदत्त भट्ट रहेका छन्।