काठमाडौँ– आज बिहान ९ बजेसम्म २३७ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । दोश्रो चरणअन्तर्गत यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।


ADVERTISEMENT


निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार, हाल ९१ स्थानीय तहको मतगणना कार्य जारी छ भने छ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सञ्चालन गर्ने प्रयास भइरहेको छ । हालसम्म १८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नं १ को खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु छन् ।


ADVERTISEMENT

# # #


यसैगरी, प्रदेश नं ५ को गुल्मी, पाल्पा, रोल्पा, रुकुम, छन् भने प्रदेश नं ७ को डडेल्धुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेको फरालिको अग्रतालाई नेपाली कांग्रेसले साँघुरो पार्दै लैजाँदा अहिले दुई दलको फरक १० सिटको वरिपरि भइरहेको छ । एमालेले प्रदेश नम्बर १ मा ४८, प्रदेश ५ मा २६ र प्रदेश ७ मा २९ स्थानीय तह जितेर १ सय ३ स्थान सुरक्षित गरिसकेको छ ।

कांग्रेसले ९४ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर १ मा ३२, प्रदेश ५ मा २६ र प्रदेश ७ मा ३६ स्थानीय तह जितेको छ ।

माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १६ र प्रदेश ७ मा ७ स्थानीय तह जितेर ३१ सिट सहित तेस्रो स्थान सुरक्षित गरेको छ । यस्तै, संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ मा ५ र प्रदेश नम्बर १ मा एक स्थानीय तह जितेर ६ सिटसहित चौथो स्थानमा रहेको छ । फोरम लोकतान्त्रिकले प्रदेश नम्बर १ मा २, ५ मा १ र ७ मा एक स्थानीय तह जितेर ४ सिटसहित पाँचौं स्थानमा रहेको छ ।

राष्ट्रिय जनमोर्चा प्यूठानका दुई स्थानीय जितेर छैटौं स्थानमा रहेको छ । राप्रपा र राष्ट्रिय जनता पार्टीका स्वतन्त्र उम्मेदवारले एकरएक स्थान जितेका छन् ।