काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । १६ सदस्यीय नेपाली टिम दिउँसो  ४:२० बजे फ्लाई दुबईतर्फ त्यसतर्फ प्रस्थान गरेको हो ।


ADVERTISEMENT


एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको बताए । उनले भने, ‘हामी आशावादी छौँ, हामीले अहिलेदेखि हाम्रो स्तरको टिमसंग राम्रो खेल्दा टेस्ट रास्ट्रहरुसंग आगामी दिनमा खेल्नको लागि अवसर जुर्ने हो।’


ADVERTISEMENT

# # #


नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने यस पटक टोलीमा छैनन् । महत्पूर्ण सदस्य टोलीमा नहुँदा प्रतियोगितामा दबाब भने रहने कप्तान खड्काको भनाइ छ । बिरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठीक हुन तीन/चार हप्ता लाग्ने बताइएको छ ।

‘दुर्भाग्य फिटनेस नभए पछि कुनै खेलाडीले केहि गर्न सक्दैन। राम्रो खेलाडी हो मिस त हुन्छ नै। कप्तान खड्काले भने, ‘व्यक्ति भनेको आउने जाने भइराख्छ, पारस होस्, शरद होस् , ज्ञानेन्द्र होस्, बसन्त होस्। कम्पिटिसन बढीराको छ, टिममा अहिलेदेखि टिम तयार गर्नुपर्छ।’

युएईसँगको खेलका लागि चार युवा खेलाडीले ‘सिनियर’ टोलीमा स्थान बनाएका छन् । अविनाश बोहरा, भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् । नेपालले यही माघ ११, १२ र १४ गते एकदिवसीय शृङ्खला र माघ १७, १८ र २० मा टी–२० शृङ्खला खेल्नेछ ।

एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृङ्खला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुनेछ । विश्व क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृङ्खला खेलेको थियो । दुई खेलको शृङ्खला एक÷एक जीतको बराबरीमा सकिएको थियो ।

नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । आइसिसीबाट एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टोली हो । युएई भ्रमणका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ ।

उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् । त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।