सिन्धुली । कमलामाई नगरपालिका– १ बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको रु चार लाख ५० हजार ट्राफिक प्रहरीले फेला पारेर दिएपछि उनको खुशीको सीमा नै थिएन । आइतबार काठमाडौँबाट सिन्धुली आउने क्रममा श्रेष्ठको झोला साटिएको थियो । झोलामा सो रकम फेला पारेपछि ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको टोलीले श्रेष्ठलाई उपलब्ध गराएको हो ।


ADVERTISEMENT


शान्तिनगर चोकमा झरेका श्रेष्ठले झोला सडक छेउमा राखे। सोही क्रममा उनले सडकमा राखेको झोला अर्को यात्रुले बोकेर गए। दुवै जनाको एकनासको झोला थियो । बच्चालाई बान्ता गराउन खोल्सातिर गएका श्रेष्ठले फर्केपछि मात्र पैसा भएको झोला साटिएको पत्तो पाए। तत्काल उनले प्रहरीलाई फोन गरी झोला साटिएको जानकारी गराए । प्रहरी सहायक निरीक्षक पाण्डे नेतृत्वको टोलीले झोला खोज्न थाले।


ADVERTISEMENT

# # #


श्रेष्ठले आफ्नो जस्तै झोला बोकेको व्यक्ति माइक्रो बस चढेर काठमाडौँतर्फ गएको जस्तो लागेको बताएपछि ट्राफिक प्रहरीले कमलामाई नगरपालिका– २ पिपलभञ्ज्याङमा माइक्रो बस जाँच गर्ने क्रममा श्रेष्ठको झोलासँगै रु साढे चार लाख फेला पारेको हो । ट्राफिक प्रहरीले झोला र पैसा श्रेष्ठलाई बुझायो ।

“झोला भेटिँदा निकै खुशी लाग्यो,” प्रहरी सहायक निरीक्षक पाण्डेले भने, “प्रहरीलाई तत्काल खबर गरेकाले पैंसो भेटाउन सम्भव भएको हो ।” समस्या पर्दा आत्तिनु भन्दा प्रहरीलाई खबर गर्नुपर्ने उनी बताउँछन्। श्रेष्ठले कमलामाई नगरपालिकामा १० धुर जग्गा किनेको र दिन बाँकी सो रकम बुझाउन जाँदै गरेको बताए। रासस