काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको छ ।


ADVERTISEMENT

# # #


मर्निङवाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

राँगो कीर्तिपुरतिरबाट बिच्किएर आएको अनुमान गरिए पनि कसको हो भन्ने खुलेको छैन ।

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त थानकोटको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरेका थिए । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो । थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरीले बताएको छ ।

मासुको प्रयोजनका लागि काठमाडौं भित्राइने राँगा र भैंसीले बेला बेलामा दुःख दिने गरेका छन् । २०७१ मंसिर महिनामा बुद्धनगरस्थित ह्याम्स अस्पतालभित्र छिरेको भैंसीलाई प्रहरीले गोली हानेर मारेको थियो । यसैगरी २०७३ असार महिनामा पनि वधशालाबाट भागेको एउटा राँगोले शहीद गेट वरपर बितन्डा मचाएको थियो ।