कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले धर्ना स्थगित गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगित गरेका हुन् ।


ADVERTISEMENT


छोरी निर्मलाको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरु गत २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि धर्ना बसेका थिए ।


ADVERTISEMENT

# # #


लामो समयसम्म धर्नामा बस्दा स्वास्थ्यमा समस्या देखिए पनि सरकारले चासो नराखेको भन्दै धर्ना स्थगित गरेरै न्यायको लडाइँ जारी राख्ने निर्णय गरिएको परिवारजनले बताएका छन् ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाका बुवा यज्ञराजले अपराधी जोसुकै भए पनि कारबाही गर्न माग गरे । प्रमाण मेटाउनेलाई विभागीय कारवाही बाहेक केही नभएको र दोषिलाई उम्काउने गिरोह सक्रिय रहेको उनीहरुको आरोप छ ।

धर्ना स्थगित गरेपछि पन्त परिवार उपचारका लागि काठमाडौं जाने तयारीमा छ । यसअघि धर्नामा बस्दाबस्दै निर्मलाका बुवा यज्ञराजको मानसिक अवस्था बिग्रएको थियो ।

गत साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या गरेर उँखुबारीमा फालिएको शव फेला परे पनि दोषी पत्ता लगाएर कारबाही गर्न सरकारले अझै सकिरहेको छैन ।